Date

बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025

नेपाल विद्युतीय व्यवसायी महासंघको १५औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न

नेपाल विद्युतीय व्यवसायी महासंघको १५औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न

काठमाडाैं, ३० वैशाख । नेपाल विद्युतीय व्यवसायी महासंघको १५औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा गण्डकी प्रदेशको पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको सभामा देशभरका विद्युतीय व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले व्यवसाय सञ्चालनमा प्रदेशका कानुन बाधक भएमा व्यवसायीहरुसँग छलफल गरी आवश्यक संशोधन गर्न सरकार तयार रहेको बताए।

‘सरकारले आफैं व्यापार गर्ने होइन, निजी क्षेत्रलाई सहजीकरण गर्ने हो,’ उनले भने, ‘जति निजी क्षेत्रको लगानी बढ्छ, त्यति नै सरकारको राजस्व बढ्छ र त्यसबाट विकास निर्माणमा टेवा पुग्छ।’ उनले विद्युत उत्पादनमा सहकार्यको प्रस्ताव राख्दै विद्युतीय व्यवसायको भविष्य उज्ज्वल रहेको र यस क्षेत्रमा लगानी बढाउन व्यवसायीहरुलाई आग्रह गरे।

मुख्यमन्त्री पाण्डेले विद्युतीय व्यवसायीहरुले भोगिरहेका कानुन र भन्सार सम्बन्धी समस्या समाधानका लागि संघीय सरकार समक्ष पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै व्यवसायीहरुले भोगिरहेका विभिन्न समस्याहरु प्रस्तुत गरे। उनले बजारमा बिक्री वितरण गर्नुअघि स्वदेशमा उत्पादित वस्तुमा उत्पादक र आयातित वस्तुमा पैठारीकर्ताले अनिवार्य लेबल लगाउनुपर्ने व्यवस्थाले व्यवसायी मर्कामा परेको भन्दै तत्काललाई उक्त नियम स्थगन गर्न माग गरे।

अध्यक्ष देवकोटाले भन्सार महसुल, भ्याट लगायतका सम्पूर्ण कर तिरेर व्यवसाय गर्ने व्यवसायीहरुलाई पीसीए र फूल अडिटको नाममा दुःख दिने कार्य बन्द गर्नुपर्ने, भन्सार दर घटाउनुपर्ने र चोरी पैठारीलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए। उनले विद्युतीय वस्तु उत्पादन तथा एसेम्बल गर्ने उद्योगहरुका लागि विशेष कर छुट वा राहत योजना ल्याउनुपर्ने, कच्चा पदार्थ आयातमा शून्य प्रतिशत भन्सार दर र एसेम्बल गर्ने उद्योगका लागि ५ प्रतिशत भन्सार दर कायम गर्नुपर्ने, स्वदेशी विद्युतीय सामग्रीमा लगाइएको अन्तशुल्क खारेज गर्नुपर्ने, सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने र स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने माग राखे।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य हरि बहादुर कार्कीले विद्युतीय व्यवसायीहरुको समस्या समाधानका लागि महासंघले निरन्तर लबिङ गरिरहेको बताए। उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र कच्चा पदार्थमा सहुलियत भन्सार दर उपलब्ध गराउन प्रदेश सरकारले पहल गर्नुपर्ने बताए।

सारदा ग्रुपका निर्देशक पवन कुमार सारदाले देशमा व्याप्त समस्याका कारण युवाहरु विदेश पलायन भइरहेकोमा दुःख व्यक्त गरे। उनले सरकारले निजी क्षेत्रलाई दुःख दिने र अनावश्यक अनुगमन गर्ने निकाय मात्र बनाएको तर व्यवसायीका समस्या सुन्ने निकाय नभएको गुनासो गरे ।

उनले उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष सुदर्शन प्रसाद पौड्याल र आयोजित जिल्ला संघका अध्यक्ष केशब ढकालले पनि विद्युतीय व्यवसायीहरुका समस्या राख्दै समाधानका लागि मुख्यमन्त्रीलाई आग्रह गरेका थिए ।

महासंघका प्रथम उपाध्यक्ष एवं १५ औं वार्षिक साधारण सभा मूल आयोजक समितिका संयोजक प्रेम बहादुर जि. सी. ले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन महासंघका महासचिव गोपाल अग्रवालले गरेका थिए ।

Sanu Thapa

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *