पर्यटक आगमनमा वृद्धिसँगै होटेल व्यवसायमा सुधार, तर नाफा वृद्धिदरमा दबाब

काठमाडाैं, १ जेष्ठ । पछिल्लो समय नेपालमा विदेशी पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएसँगै आन्तरिक पर्यटन पनि फस्टाउँदै गएको छ। यसले होटेल तथा पर्यटन क्षेत्रमा व्यापारको आकार बढाए पनि नाफा वृद्धिदर भने अपेक्षाकृत देखिएको छैन।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ६ वटा होटेल तथा पर्यटन समूहका कम्पनीहरूले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार व्यापारमा ८.८५ प्रतिशतको वृद्धि भए पनि नाफा वृद्धि दर भने केवल १.५८ प्रतिशत मात्रै भएको छ।
४ अर्ब ७४ करोडको व्यापार, नाफा ८० करोडमा सीमित
९ महिनाको अवधिमा सूचीकृत कम्पनीहरूको कुल व्यापार ४ अर्ब ७४ करोड १० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा यो आँकडा ४ अर्ब ३५ करोड ५५ लाख रुपैयाँ थियो।
तर, समग्रमा कम्पनीहरूको नाफा ८० करोड ३६ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा कम्पनीहरूले ७९ करोड १० लाख ८५ हजार रुपैयाँ नाफा कमाएका थिए।
सोल्टी होटल : व्यापार र नाफा दुवैमा उत्कृष्ट प्रदर्शन
सोल्टी होटलले व्यापार र नाफा दुवैमा सबल उपस्थिति देखाएको छ। ९ महिनामा कम्पनीले १ अर्ब ८९ करोड ८ लाख रुपैयाँको व्यापार गर्दै १३.३५ प्रतिशतले नाफा वृद्धि गर्दै ४६ करोड ७३ लाख ९३ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ।
गत आवको सोही अवधिमा सोल्टीले ४१ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीले पर्यटक आगमनमा भएको वृद्धिको सकारात्मक प्रभाव परेको जनाएको छ।
तारागाउँ रिजेन्सी : व्यापारमा आक्रामक, नाफा स्थिर
तारागाउँ रिजेन्सीले ४१.४ प्रतिशतको व्यापार वृद्धिदर दर्ता गर्दै १ अर्ब ३ करोड १८ लाख रुपैयाँको व्यापार गरेको छ। तर, नाफा भने १.२८ प्रतिशतले मात्र बढेर ३३ करोड ७५ लाख ५६ हजार रुपैयाँमा सीमित भएको छ।
चन्द्रागिरी हिल्स : व्यापार घट्दा पनि नाफामा स्थिरता
चन्द्रागिरी हिल्सको व्यापार ८.९३ प्रतिशत घट्दै ६३ करोड ५१ लाख रुपैयाँमा सीमित भयो। यद्यपि, कम्पनीको नाफा भने ०.८३ प्रतिशतले बढेर १० करोड ८८ लाख रुपैयाँमा कायम रहेको छ।
कालिञ्चोक दर्शन : व्यापारमा उच्च वृद्धि, नाफामा गिरावट
कालिञ्चोक दर्शनको व्यापार ७१८.१६ प्रतिशतले बढ्दै ५ करोड ६२ लाख ९० हजार रुपैयाँमा पुगेको छ। तर, नाफा भने २५.२७ प्रतिशतले घटेर १ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ।
ओरियण्टल होटल : व्यापार र नाफा दुवै घट्यो
ओरियण्टल होटलको व्यापार ८.३ प्रतिशतले घट्दै ७५ करोड १६ लाख रुपैयाँमा झरेको छ। नाफा पनि ३२.१६ प्रतिशतले घटेर ४ करोड ४७ लाख रुपैयाँमा सीमित भयो।
सिटी होटल : व्यापारमा गिरावट, नोक्सानीमा वृद्धि
सिटी होटलको व्यापार १०.७८ प्रतिशतले घटेर ३७ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको नोक्सानी १३ प्रतिशतले बढ्दै १७ करोड ३८ लाख रुपैयाँ पुगेको छ।