एमजीको नयाँ इलेक्ट्रिक एमयूभी ‘विन्डसर’ छिट्टै नेपाली बजारमा, ३३२ किलोमिटर रेञ्जसहित भित्रिँदै

काठमाडाैं, ६ जेष्ठ । नेपाली बजारमा इलेक्ट्रिक भेहिकलको परिचित ब्राण्ड एमजी (MG) ले आफ्नो नयाँ इलेक्ट्रिक मल्टि युटिलिटी भेहिकल (एमयूभी) ‘विन्डसर’ (Windsor) छिट्टै भित्र्याउने भएको छ। ‘जेडएस इभी’ (ZS EV) को अपार सफलता पछि कम्पनीले दोस्रो आकर्षक मोडेलको रूपमा विन्डसर ल्याउन लागेको हो।
नेपालस्थित एमजीका आधिकारिक विक्रेता पारामाउण्ट मोटर्सका अनुसार केही दिनमै नयाँ एमयूभी गाडी नेपाली बजारमा ल्याइने तयारी भइरहेको छ।
एमयूभी शैलीमा आरामदायी डिजाइन
विन्डसर आकर्षक एमयूभी हो जुन नेपाली बजारमा लोकप्रिय हुँदै गएको एसयूभी शैलीसँग मिल्दोजुल्दो भए पनि ‘मिनिभ्यान’ डिजाइनमा आधारित छ। पाँच जना सजिलै अट्ने, ६०४ लिटरको ठूलो बुट स्पेस, १८६ एमएम ग्राउण्ड क्लियरेन्स र २७०० एमएमको ह्विलबेसले गर्दा शहरी क्षेत्र तथा समथर भू–भागमा विशेष उपयुक्त मानिएको छ।
शक्तिशाली मोटर र आधुनिक फिचरहरू
यो गाडीमा १०० किलोवाट मोटर प्रयोग गरिएको छ जसले १३४ बीएचपी पावर र २०० एनएम टर्क उत्पादन गर्न सक्छ। अटोमेटिक ट्रान्समिशन, फ्रन्ट ह्वील ड्राइभ सिस्टम, फ्रन्ट र रियर डिस्क ब्रेक, पावर स्टेरिङ, एयर कन्डिसन, क्रुज कन्ट्रोल, रियर पार्किङ सेन्सर, की–लेस इन्ट्री, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, र USB चार्जिङ पोर्ट लगायतका अत्याधुनिक फिचरहरू छन्।
सुरक्षा र सुविधामा भरपर्दो
सुरक्षाको हिसाबले विन्डसरमा ६ वटा एयर ब्याग, एण्टिलक ब्रेकिङ सिस्टम (ABS), ब्रेक असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, स्पीड अलर्ट, र चाइल्ड सेफ्टी लक जस्ता प्रमुख फिचरहरू दिइएका छन्। साथै, हाइट एड्जस्टेबल ड्राइभर सीट र हेडरेस्ट सुविधाले यात्रालाई थप सहज बनाउँछ।
३३२ किमी रेञ्ज दिने ब्याट्री
नेपालमा ल्याउन लागिएको भेरियन्टमा ३८ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ, जसले ३३२ किलोमिटरसम्मको रेञ्ज प्रदान गर्छ। ७.४ किलोवाट एसी चार्जरबाट ६.५ घण्टामा र ५० किलोवाट डीसी चार्जरबाट ५५ मिनेटमा ८०% चार्ज गर्न सकिने सुविधा छ। साथमा ३.३ किलोवाटको वाल चार्जर पनि उपयुक्त विकल्प हो।
भारतमै उत्पादन, नेपालमा ‘एसेन्स’ भेरियन्ट आउँदै
विन्डसर भारतमै उत्पादन भएको गाडी हो, जसलाई चीनको साइक मोटर्स र भारतको जेएसडब्ल्यू ग्रुप को सहकार्यमा बनाइएको हो। भारतीय बजारमा यो गाडी चार भेरियन्ट (Excite, Exclusive, Essence, Essence Pro) मा उपलब्ध छ, जसमा Essence भेरियन्ट नेपालमा ल्याउन लागिएको हो।
नेपाली बजार मूल्य ४० लाख हाराहारी हुने अनुमान
भारतीय बजारमा विन्डसरको मूल्य १६–१७ लाख भारु रहेको छ भने नेपालमा भने यसको मूल्य ४० लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ। विद्युतीय गाडीमा २०% भन्सार, १५% अन्तःशुल्क र १३% भ्याट लाग्ने भए पनि रोड ट्याक्समा ५०% छुट दिइएको छ।