प्रधानमन्त्री ओली अस्वस्थ भएपछि संसदमा तय भएको प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडाैं, ६ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था ठीक नभएपछि आज (मंगलबार) प्रतिनिधि सभामा तय गरिएको प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको छ।
प्रतिनिधि सभा बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भए पनि प्रधानमन्त्री ओलीको अनुपस्थितिका कारण सांसदहरूसँगको प्रश्नोत्तर सत्र कार्यसूचीबाट हटाइएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
प्रतिनिधि सभा नियमावली, २०७९ को अध्याय ९ अनुसार प्रत्येक सत्रमा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने व्यवस्था रहे पनि स्वास्थ्यको कारण देखाउँदै ओलीले आजको सत्रमा उपस्थित हुन नसक्ने बताएपछि कार्यक्रम स्थगित गरिएको हो।
प्रधानमन्त्री ओलीको अस्वस्थताका कारण सोमबारको मन्त्रिपरिषद् बैठक समेत स्थगित गरिएको थियो। हाल प्रधानमन्त्री स्वास्थ्य परीक्षणमा रहेका छन् र विश्राममा छन् भन्ने जानकारी स्रोतले दिएको छ।