Date

मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

सांसदहरूद्वारा संसद बैठकमा विविध समसामयिक मुद्दामा आवाज उठाउँदै सरकारलाई ध्यानाकर्षण

सांसदहरूद्वारा संसद बैठकमा विविध समसामयिक मुद्दामा आवाज उठाउँदै सरकारलाई ध्यानाकर्षण

काठमाडाैं, ६ जेष्ठ । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा विभिन्न सांसदहरूले समसामयिक समस्याहरू उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद बीना लामाले संसदमा कार्यरत मर्यादा पालक (मार्शल)हरूको चिन्तालाई सम्बोधन गर्न सरकारसँग माग गरिन्। उनले मर्यादा पालकहरूलाई पौष्टिक खाजा र भोजनको व्यवस्था मिलाउनुपर्ने आवश्यकता औंल्याइन्।

त्यस्तै बिनिता कुमारी सिंहले जनआवास कार्यक्रमको कार्यान्वयनमा सरकार उदासीन रहेको आरोप लगाउँदै यसतर्फ गम्भीर ध्यान दिन आग्रह गरिन्।

बीना जैसवालले बैंक तथा वित्तीय संस्थाहरूले लिलामी प्रक्रिया अघि बढाउँदा धितोको मूल्यांकन न्यून गरिरहेको गुनासो राखिन्। उनले बैंक ऋण लिन खडा हुने अनावश्यक अवरोध हटाउन नेपाल राष्ट्र बैंकले प्रभावकारी नियामकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।

शान्ति श्रेष्ठले आगामी आर्थिक वर्षका लागि ल्याइएका नीति तथा कार्यक्रमले गरिबी निवारणमा आशावादी कार्यक्रम समेटेको भन्दै त्यसलाई बजेटमा पनि सुनिश्चित गर्न आग्रह गरिन्। साथै उनले सबै बालबालिकाको विद्यालयसम्म पहुँच सुनिश्चित गर्न थप पहल गर्नुपर्ने बताइन्।

शिव नेपालीले लामो दूरीका यातायात सेवा प्रदायकहरूले एयर कण्डिसन तथा डिलक्स सेवा दिने भनी लिएको शुल्क अनुसारको सेवा नदिएको गुनासो सार्वजनिक भइरहेको बताए। यस्ता सेवाहरू र विमान सेवा कम्पनीहरूप्रति जनगुनासो बढेकाले सरकारले हस्तक्षेप गर्नुपर्ने माग गरे।

शेरबहादुर कुँवरले राज्यले पूर्व जनप्रतिनिधिहरूप्रति उदार व्यवहार नगरेको आरोप लगाए। उनले काभ्रेपलाञ्चोकका पूर्व सांसद गोविन्दनाथ उप्रेती गम्भीर बिरामी अवस्थामा रहेको उल्लेख गर्दै राज्यले आवश्यक उपचारको व्यवस्था मिलाउनु पर्नेमा जोड दिए।

शोभा ज्ञवालीले बर्दियाको बबई नदीमा पुलको शीघ्र निर्माणको माग गरिन् भने सरिता ज्ञवालीले युवामा सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगप्रति चिन्ता व्यक्त गरिन्। उनले सुर्तीजन्य पदार्थको आपूर्ति क्रमशः बन्द गर्नुपर्ने सुझाव दिइन्।

बैठकमा सभामुख देवराज घिमिरेले संसद बैठकको कार्यसूची अन्तर्गत आज प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर दिने कार्यक्रम हटाइएको जानकारी गराएका छन्। उक्त कार्यक्रम प्रतिनिधि सभा नियमावली, २०९ बमोजिमको अध्याय ९ अनुसार तय गरिएको थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *