कोशी प्रदेशमा पहिलो पटक “सीप उत्सव २०८२” आयोजना हुँदै, रोजगार र दक्ष जनशक्ति विकासमा केन्द्रित दुईदिने भव्य कार्यक्रम

काठमाडौं, ८ जेष्ठ । उद्योग संगठन मोरङको आयोजनामा, स्वीस सरकार र नेपाल सरकारबीचको द्विपक्षीय परियोजना इन्स्योर (INSURE) को प्राविधिक सहयोग, सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको समन्वयमा सीप उत्सव २०८२ जेठ १० र ११ गते विराटनगरमा हुने भएको छ।
दुईदिने यस महोत्सवमा सूचना प्रविधि, अटोमोबाइल, होटल व्यवस्थापन र इलेक्ट्रिकल विधामा सीप प्रदर्शन, अन्तिम प्रतिस्पर्धा, वृति परामर्श (करियर काउन्सेलिङ), लाईभ तालिम लगायतका कार्यक्रमहरू हुनेछन्। उत्सव उद्योग संगठन मोरङको सचिवालय, तीनपैनी, विराटनगरमा बिहान १० बजेबाट सुरु हुनेछ।
उत्सवको उद्देश्य रोजगारीको खोजीमा रहेका जनशक्ति, तालिम प्रदायक संस्था तथा रोजगारदाता कम्पनीहरूबीचको समन्वय, सीपयुक्त जनशक्तिको उत्पादन, स्वदेशमै रोजगारीका अवसरको प्रवर्धन, र प्राविधिक शिक्षाको महत्त्वबारे जनचेतना फैलाउनु रहेको आयोजक संस्था उद्योग संगठन मोरङले जनाएको छ।
प्रारम्भिक चरणमा १८ प्रतिस्पर्धी छनोट
वैशाख २२ देखि ३० सम्म झापा, मोरङ र सुनसरीका ११ प्राविधिक शिक्षालयहरूमध्ये ७ शिक्षालयमा आन्तरिक सीप प्रतिस्पर्धा सम्पन्न भइसकेको छ। यसबाट सूचना प्रविधिमा १०, अटोमोबाइलमा ४ र होटल व्यवस्थापनमा ४ जना गरी कुल १८ प्रतिस्पर्धी छनोट भएका छन्। अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट स्थान प्राप्त गर्ने प्रशिक्षार्थीलाई “कोशी प्रदेश स्किल आइकन” को उपाधिले सम्मान गरिनेछ।
उत्सवका मुख्य आकर्षणहरू
१. सूचना प्रविधि, होटल व्यवस्थापन र इलेक्ट्रिकल विधामा लाईभ तालिम
२. एक हजारभन्दा बढी युवाका लागि करियर काउन्सेलिङ र मार्गदर्शन सत्र
३. उद्योग क्षेत्रका विज्ञहरुद्वारा प्रेरणादायी छलफल तथा अनुभव साटासाट
४. “सीप, दक्षता र अनुभव” को आधारमा विद्यालय–उद्योग सहकार्यको प्रवर्धन
लक्षित समूह र उद्देश्यहरू
उत्सवमा सूचना प्रविधि, होटल व्यवस्थापन, अटोमोबाइल, इलेक्ट्रिकल इन्जिनियरिङमा संलग्न विद्यार्थी, प्रशिक्षार्थी, उद्योग प्रतिष्ठान, संघसंस्थाका प्रतिनिधिहरू, तालिम प्रदायकहरू, र प्रदेश तथा स्थानीय निकायहरू सहभागी हुनेछन्। निजी क्षेत्रको नेतृत्वमा आयोजना गरिँदै आएको यो उत्सवले “शिक्षा र सीपलाई रोजगारीसँग जोड्ने” प्रयासलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।
दीर्घकालीन प्रभाव र उपलब्धि
उद्योग संगठन मोरङद्वारा विकसित यो प्रोटोटाइप कार्यक्रम भविष्यमा प्रदेशभरि लागू गर्न सकिने नमूना कार्यक्रम बन्ने लक्ष्य लिएको छ। यसले व्यवहारिक सीपमा आधारित सिकाइ, उद्योगसँगको सहकार्य र प्रभावकारी रोजगारको बाटो खुला गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
सम्पूर्ण सञ्चारकर्मी र सरोकारवालाहरुलाई सहभागिताको अनुरोध
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले प्रदेशको सीपयुक्त जनशक्ति विकास र उद्योग–शिक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित आयोजना गर्न लागिएको सीप उत्सव २०८२ मा वढीभन्दा बढी जनसहभागिता र प्रचारप्रसारका लागि सम्पूर्ण सञ्चारकर्मीहरूलाई हार्दिक अनुरोध गरेका छन्।