बजेट तयारीलाई लक्षित गर्दै अर्थ मन्त्रालय प्रवेशमा कडाइ, जेठ १५ मा बजेट प्रस्तुत हुने

काठमाडाैं, ९ जेष्ठ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीलाई व्यवस्थित र गोप्य राख्नका लागि अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ। मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले जानकारी दिँदै बजेट निर्माणको अन्तिम चरणमा मन्त्रालयमा अनावश्यक आवत–जावत रोक्नका लागि यो व्यवस्था गरिएको बताएका छन्।
पंगेनीका अनुसार, बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझाव संकलनको प्रक्रिया वैशाख महिनाभर चलाइएको थियो, जसमा विभिन्न क्षेत्रका सरोकारवालाहरूसँग खुला पहुँचको माध्यमबाट विचार लिइएको थियो। “अब बजेटको मसौदा अन्तिम तयारीको चरणमा पुगेको छ,” पंगेनीले भने, “त्यसलाई योजनावद्ध र व्यवस्थित बनाउन मन्त्रालयको सुरक्षालाई कडा बनाइएको हो।”
अर्थ मन्त्रालयका अनुसार अब तयारीको बाँकी कामहरू मन्त्रालय भित्रै सीमित टिमले गोप्य रूपमा सम्पन्न गर्नेछ। यसले बजेट तयारी प्रक्रियामा बाह्य प्रभाव तथा अनधिकृत पहुँचलाई निरुत्साहित गर्ने विश्वास गरिएको छ।
संघीय संसद्को संयुक्त बैठकमा यही जेठ १५ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्नेछन्। मन्त्रालय स्रोतका अनुसार बजेटमा आर्थिक सुशासन, उत्पादन वृद्धिको प्रवर्द्धन, रोजगारी सिर्जना, राजस्व वृद्धि र भौतिक पूर्वाधार विकासमा विशेष जोड दिइनेछ।