Date

आइत, जेष्ठ ११, २०८२
Sun, May 25, 2025

गभर्नरका आकांक्षी रहेका डा. गुणाकर भट्ट काममा फर्किए, गभर्नर डा .पौडेलको सचिवालयमा तानियो

गभर्नरका आकांक्षी रहेका  डा. गुणाकर भट्ट काममा फर्किए,  गभर्नर डा .पौडेलको सचिवालयमा तानियो

काठमाडाैं, ११ जेष्ठ । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले महत्वपूर्ण कदम चाल्दै डा. गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर सचिवालयमा ल्याएका छन्। पौडेलले १२ गतेदेखि लागू हुने गरी भट्टको सरुवा गरेका हुन्।

डा. भट्टलाई सुरुमा सत्ता साझेदार नेपाली कांग्रेसले गभर्नर पदका लागि प्रस्ताव गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुमा ‘हुन्छ’ भने पनि पछि त्यसमा सहमति जनाएनन्। त्यसपछि गभर्नर सिफारिस समितिका सदस्यबाट राजीनामा गराएर पौडेललाई गभर्नर बनाइएको थियो। यद्यपि, भट्टले नाम प्रस्ताव भएपछि दिएको राजीनामा कामु गभर्नर डा. निलम ढुङ्गानाले अस्वीकार गरेकी थिइन्। अहिले पौडेलले भट्टलाई सचिवालयमा सरुवा गरेर उक्त अस्वीकृति कायम राखेको संकेत मिलेको छ।

यसअघि गभर्नर कार्यालयमा रहेका डा. प्रकाश कुमार श्रेष्ठ केही समयदेखि राष्ट्रिय योजना आयोगमा सदस्य छन् र हालै (शनिबार) राष्ट्र बैंकबाट अवकाश भइसकेका छन्।

यसबाहेक, गभर्नर पौडेलले अन्य विभागमा समेत सरुवा र पुनर्संरचना गरेका छन्। आर्थिक अनुसन्धान विभागमा डा. रामशरण खरेललाई ल्याइएको छ, जो अघिल्लो महिना मात्र निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा भएका थिए। खरेल यसअघि मानव संशाधन विभागमा कार्यरत थिए, र अब मौद्रिक नीतिको समीक्षाको मुखैमा आर्थिक अनुसन्धान विभागमा जिम्मेवारी पाएका छन्।

मानव संशाधन विभागमा विश्रुत थापा पुगेका छन्, जो पहिला बैंकिङ विभागमा थिए। सम्भवतः बैंकिङ विभागमा डा. डिल्लीराम पोखरेललाई लैजाने तयारी भइरहेको छ। प्रकाशकुमार श्रेष्ठ अवकाश भएपछि पोखरेल कार्यकारी निर्देशकमा बढुवा हुँदैछन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *