नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति खारेजी माग गर्दै सर्वोच्चमा रिट दर्ता, बुधबार सुनुवाइ हुने

काठमाडाैं, १३ जेष्ठ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। अधिवक्ता अनन्तराज लुइँटेल, विशाल थापा लगायतले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन्।
रिटमा पौडेलको नियुक्ति प्रक्रिया संविधान, सुशासन र कानुनी मापदण्डविपरीत भएको दाबी गरिएको छ। रिट निवेदकहरूले उनको राजनीतिक पृष्ठभूमि, आवश्यक मौद्रिक अनुभवको अभाव, तथा राष्ट्र बैंक ऐनअनुसार शैक्षिक योग्यता नपुगेको जस्ता आधार उल्लेख गरेका छन्।
साथै, निवेदनमा पूर्व सिफारिस समिति सदस्यले राजीनामा दिएर आफूलाई नै अगाडि सारेको शैलीलाई नीहित स्वार्थको संज्ञा दिँदै गम्भीर आपत्ति जनाइएको छ।
रिटमार्फत मुद्दा टुंगिनुअघि गभर्नरको हैसियतमा डा. पौडेलले नोटमा हस्ताक्षर गर्ने लगायतका कुनै पनि दूरगामी र प्रभाव पार्ने निर्णय नगर्न अन्तरिम आदेशको माग गरिएको छ।
यसअघि पनि पौडेलको नियुक्तिमा प्रश्न उठाउँदै रिट दायर गरिएको थियो, जसलाई सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो। तर, यसपटक दर्ता भएको रिटमा सर्वोच्च अदालतले बुधवारका लागि पेसी तोकेको छ।