Date

शनि, असार ७, २०८२
Sat, June 21, 2025

चितवनको बीपी कोईराला क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्री’ सेवा सुरु : अब रक्त क्यान्सर परीक्षण भारत पठाउन नपर्ने

चितवनको बीपी कोईराला क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्री’ सेवा सुरु : अब रक्त क्यान्सर परीक्षण भारत पठाउन नपर्ने

काठमाडाैं, १३ जेष्ठ । बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरले रक्त क्यान्सरको भेरियन्ट पत्ता लगाउने अत्याधुनिक ‘फ्लो साइटोमेट्री’ परीक्षण सेवा सुरु गरेको छ। यो सेवा नेपालमै पहिलोपटक सुरु भएको हो, जसबाट बिरामीहरूलाई अब नमुना भारत पठाउनुपर्ने झन्झटबाट मुक्ति मिलेको छ।

अस्पतालका ल्याब विभाग प्रमुख डा. ग्रेटा पाण्डेका अनुसार, सेवा सुरु भएको छोटो समयमै ९० भन्दा बढी व्यक्तिले यो परीक्षण गराइसकेका छन्। यसअघि बिरामीहरूलाई नमुना भारत पठाएर महँगो शुल्क तिर्नुपर्ने बाध्यता थियो, तर अब अस्पतालमै रु. १२,००० मा परीक्षण गराउन सकिन्छ।

फ्लो साइटोमेट्री परीक्षण रक्त क्यान्सर भएका बिरामीहरूको हड्डी मज्जाबाट नमुना निकालेर गरिने एक प्रकारको उच्चस्तरीय परीक्षण हो, जसले क्यान्सरको प्रकार पहिचान गर्न सहयोग पुर्‍याउँछ।

अस्पतालले यो सेवा सुरु गर्नका लागि भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा एक जना चिकित्सक र एक जना प्राविधिकलाई तालिम पठाएको थियो। तालिमपछि अस्पतालमा सेवा विस्तार गरिएको हो।

कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार, क्यान्सर उपचारलाई अझ प्रभावकारी बनाउन अस्पतालले उपकरणहरू स्थापना गर्दै मानव संसाधनलाई तालिम दिने प्रक्रिया तीव्र बनाएको छ। “हामी क्यान्सर उपचारका आधुनिक सेवा विस्तारमा लगातार लागिरहेका छौं, ताकि नेपाली जनताले स्वदेशमै भरपर्दो उपचार पाउन सकून्,” उनले बताए।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *