हिमालय हाम्रो साझा सम्पदा हो, संरक्षण सबैको दायित्व: संस्कृति तथा पर्यटनमन्त्री पाण्डे

काठमाडाैं, १३ जेष्ठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हिमालयको संरक्षण गर्नु हाम्रो साझा दायित्व भएको बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित ‘एभरेस्ट सम्मिटियर्स सम्मेलन’ कार्यक्रममा मन्त्री पाण्डेले हिमाल आरोहण सफल पार्ने सम्पूर्ण आरोहीहरूलाई बधाई तथा शुभकामना दिँदै भविष्यका पुस्ताका लागि हिमालय र हिमाली संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने आवश्यकता औँल्याए।
मन्त्री पाण्डेले भने, “हामी यहाँ केवल विश्वको सर्वोच्च शिखर चुम्न सफल व्यक्तिहरूलाई बधाई दिन आएका होइनौं, उनीहरूको साहस, समर्पण र दृढतालाई सम्मान जनाउन आएका हौं।”
कार्यक्रममा मन्त्री पाण्डेले शेर्पा समुदाय, गाइड, उद्धार टोली तथा हिमाली क्षेत्रमा निरन्तर सेवा गर्ने सबैप्रति विशेष आभार व्यक्त गरे। उनले थपे, “उनीहरूको योगदानले हिमाल यात्रालाई अझ सुरक्षित, वातावरणमैत्री र अर्थपूर्ण बनाएको छ।”
मन्त्री पाण्डेले हिमाल आरोहण प्रवर्द्धनका लागि सरकारले पूर्वाधार, तालिम र वातावरणीय संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए। साथै, हिमाली पर्यटनसँगै स्थानीय समुदायको समृद्धि र जीवनस्तर उकास्न सरकार कटिबद्ध रहेको बताए।
हिमालयलाई केवल भौगोलिक संरचना नभएर सभ्यता, संस्कृति र सहअस्तित्वको पुलको रूपमा चित्रण गर्दै उनले भने, “यी पर्वत पवित्र हुन्, र तिनलाई सुरक्षित राख्नु हाम्रो साझा जिम्मेवारी हो।”
हाल जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालयको भविष्यमा खतरा उत्पन्न भएको उल्लेख गर्दै मन्त्री पाण्डेले भने, “अब हामीले यी हिमालहरूलाई बुद्धिमत्ता, सावधानी र सम्मानका साथ जोगाउने समय आएको छ।”