नेपाल एसबिआई बैंकको डेपुटी सीईओमा विकास आनन्द, प्रमुख सञ्चालन अधिकृतबाट बढुवा

काठमाडाैं, १३ जेष्ठ । नेपाल एसबिआई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) को जिम्मेवारी विकास आनन्दले पाएका छन्। बैंकको संचालक समितिको जेठ १२ गते बसेको बैठकले उनलाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनकाे कार्यकाल आज जेठ १३ गते (मंगलवार) देखि लागू भएको छ।
आनन्द यसअघि बैंकको प्रमुख सञ्चालन अधिकृत (चीफ अपरेटिङ अफिसर) को जिम्मेवारी सम्हाल्दै आएका थिए। बैंकका अनुसार भारतीय स्टेट बैंक र नेपाल एसबिआई बैंकबीचको प्राविधिक सेवा सम्झौताअनुसार उनी प्रमुख सञ्चालन अधिकृतको रूपमा खटिएका थिए। बरिष्ठताको आधारमा उनले अब डेपुटी सीईओको जिम्मेवारी पाएका हुन्।
यसअघिसम्म बैंकको डेपुटी सीईओको जिम्मेवारी राजेश कुमार पंडाले सम्हाल्दै आएका थिए। उनी बैंकको प्रमुख वित्तीय अधिकृत (सीएफओ) हुन् र अबदेखि उनले सीएफओको मात्रै जिम्मेवारी सम्हाल्नेछन्।