चाँदी आयातमा बैंक र व्यवसायीबीच फरक-फरक नियम भएको भन्दै व्यवसायीको आपत्ती

काठमाडौँ, १४ जेष्ठ । चाँदी आयातमा व्यवसायी र बैंकबीचको फरक फरक नियम भएको भन्दै व्यवसायीले आपत्ति जनाएका छन् ।
बैंक र व्यवसायीलाई चाँदी आयातमा हुने फरक फरक नियम लागु हुँदा व्यवसायी मारमा परेका छन् । बजारमा कच्चा चाँदीको कमी भएको भन्दै व्यवसायीले आपूर्ति व्यवस्था बढाउनका लागि बैंकहरुको जस्तै व्यवसायीलाई पनि सहज हुनुपर्ने माग गरेका छन् ।
केन्द्रीय बैंकले व्यवसायी र बैंकका लागि फरक नीति लिन नहुने व्यवसायीको भनाई छ । उनीहरुले आयातमा डलर सटही सुविधा बढाएपनि बैंक र व्यवसायीलाई फरक फरक नियम लागु हुनु अन्याय भएको गुनासो गरे ।
“आयातमा र्बैक र व्यवसायीलाई भएको फरक फरक नियम खारेज हुनुपर्छ , जसरी र्बैकले आयता गर्छ त्यसरी नै व्यवसायीले पनि गर्न पाउने गरी एउटै नियम लागु हुनु पर्यो ” व्यवसायीको भनाई छ ।
अहिलेको प्रावधान अनुसार व्यवसायीहरुले ओपन जेनेरल लाइसेन्स नामको अनुमति लिएर मात्र आयात गर्न पाउँछन् । उनीहरुले स्ट्यान्ड बाइ अनुमति लिनुपर्छ । त्यसपछि बैंक मार्फत पैसा पठाएर सामान मगाउन सकिन्छ । तर बैंकहरुले निश्चित वस्तु आयात गर्दा व्यवसायीकोभन्दा सहज हुने भएकाले बैंक र व्यवसायीलाई एकै किसिमको नीति ल्याउन आवश्यक छ ।
यसका कारण चाँदी आयातमा मात्र नभई चाँदीबाट बनेका हस्तकलाका सामग्री निर्यातमा समेत अप्ठ्यारो हुने गरेको छ । चाँदीबाट बनेका धार्मिक हस्तकलाका सामग्रीहरु नेपालबाट तिब्बत, भुटान लगायतका देशका निर्यात हुने गरेका छन् ।
सरकारको नीतिमा एकरुपता नहुँदा गैरकानूनी ढंगबाट समेत निर्यात हुने गरेको पाइएको छ । जसको कारण सरकारलाई प्राप्त हुने राजस्व समेत दिनप्रतिदिन गुम्दै गइरहेको छ ।
अहिलेको प्रावधान अनुसार व्यवसायीले चाँदी खरिद गर्दा पनि बैंकले सिमित मात्रामा मात्र विक्रि गर्ने गरेको छ । जसको कारण व्यापारीहरुले माग अनुसारको सामग्री बनाउन कच्चा पदार्थको अभाव झेल्दै आइरहेका छन् ।