Date

बुध, जेष्ठ २१, २०८२
Wed, June 4, 2025

वाणिज्य बैंकहरूको आधार दर ऐतिहासिक रूपमा घट्यो, ऋण लिन अब झन् सस्तो

वाणिज्य बैंकहरूको आधार दर ऐतिहासिक रूपमा घट्यो, ऋण लिन अब झन् सस्तो

काठमाडाैं, १९ जेष्ठ । काठमाडौं, जेठ — पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) झन्डै २.३१ प्रतिशत अंकले घटेर औसत ६.२६ प्रतिशतमा झरेको छ । गत वर्षको यही समयमा ८.५७ प्रतिशत रहेको औसत बेस रेट यसै महिनाको अन्त्यसम्म आइपुग्दा ६.२६ प्रतिशतमा सीमित भएको नेपाल बैंकर्स संघको तथ्याङ्कले देखाएको छ । आधार दर घटिसँगै कर्जाको लागत न्यून भएकोले नयाँ ऋण लिने ग्राहकलाई प्रत्यक्ष लाभ पुग्ने भएको छ ।

हाल बजारमा तरलता प्रशस्त रहँदासमेत लगानी माग अपेक्षाकृत कमजोर देखिएकाले बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै कर्जाको लागतसमेत घटाएका हुन् । साउनदेखि वैशाख मसान्तसम्म कर्जा प्रवाह ७.४४ प्रतिशतले बढेर ४९ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ । यही अवधिमा निक्षेप संकलन ६.७५ प्रतिशतले बढ्दै ६१ खर्ब ४३ अर्बसम्म पुगेको छ । तर पर्याप्त तरलता हुँदाहुँदै पनि लगानी वातावरण सुस्त भएकाले बैंकहरू अझै आक्रामक रूपमा ऋण प्रवाहको खोजीमा छन् ।

ग्राहकका लागि आधार दर घट्नु सकारात्मक संकेत हो । किनकि बैंकहरूले कर्जाको प्रकारअनुसार यही आधार दरमा १–५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याजदर निर्धारण गर्छन् । आधार दर कम भएकाले कुल कर्जाको ब्याज पनि स्वाभाविक रूपमा कम हुन्छ ।

कुन बैंकको आधार दर कति छ ?

सबैभन्दा कम आधार दर भएका बैंकहरू

स्ट्यान्डर्ड चार्टर्ड बैंकराष्ट्रिय वाणिज्य बैंक (आरबीबी) — ४.९७ प्रतिशत

एभरेष्ट बैंक — ५.३८ प्रतिशत

नेपाल बैंक — ५.८२ प्रतिशत

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक — ५.९१ प्रतिशत

नबिल बैंक — ५.९३ प्रतिशत

अन्य प्रमुख बैंकहरूको हालको आधार दर

ग्लोबल आइएमइ ६.१६ प्रतिशत, कृषि विकास ६.२२ प्रतिशत, सानिमा ६.३७ प्रतिशत, माछापुच्छ्रे ६.४१ प्रतिशत, एनएमबि ६.४३ प्रतिशत, सिद्धार्थ ६.४५ प्रतिशत, सिटिजन ६.५३ प्रतिशत, नेपाल एसबिआई ६.५७ प्रतिशत, लक्ष्मी सनराइज ६.६८ प्रतिशत, प्रभू ६.७५ प्रतिशत, हिमालयन ६.७७ प्रतिशत, कुमारी ६.८ प्रतिशत, प्राइम ६.८२ प्रतिशत र एनआईसी एशिया ७.२५ प्रतिशत मा रहेको संघले जनाएको छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *