संघीय संसद्का दुवै सदनको बैठक आज, बजेटमाथि छलफल हुने

काठमाडाैं, २२ जेष्ठ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबैको बैठक आज बिहीबार एकै दिन बस्दैछन्। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक सवा १ बजे सुरु हुने तय भएको संसद सचिवालयले जनाएको छ।
प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरिएको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल हुने कार्यसूची तय गरिएको छ। उक्त छलफल संसदमा बजेटसम्बन्धी प्रारम्भिक प्रतिक्रिया र सुझाव समेट्नका लागि महत्वपूर्ण मानिएको छ।
त्यस्तै, प्रतिनिधिसभाका सम्माननीय सभामुखले समितिहरूमा सदस्यहरूको हेरफेरसम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची पनि संसदको बैठकमा समावेश गरिएको छ। विषयगत समितिहरूमा देखिएको आवश्यकताको सन्दर्भमा सदस्यहरूको पुनःगठन वा स्थानान्तरणबारे विचार गरिनेछ।
यसैबीच, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक, २०८२ सम्बन्धी समितिको प्रतिवेदन संसदमा पेश गर्ने कार्यसूची पनि तय भएको छ। उक्त विधेयकले संघीय निजामती सेवाको ढाँचा, सेवा सुविधा तथा प्रशासनिक व्यवस्थापनको रूपरेखा स्पष्ट पार्ने उद्देश्य राखेको छ।
यसैगरी, राष्ट्रिय सभाको आजको बैठकमा पनि आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरिने सचिवालयले जनाएको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभामा समानान्तररूपमा बजेटमाथि छलफल सुरु हुनुले संघीय संसदको बजेट प्रक्रियालाई औपचारिकरूपमा अघि बढाउने संकेत दिएको छ।
सरकारले जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा अर्थतन्त्र सन्तुलनमा ल्याउने, उत्पादक क्षेत्रलाई प्राथमिकता दिने र सामाजिक सुरक्षामा ध्यान दिने योजनाहरू समेटिएको छ।