ट्रम्प–मस्क सम्बन्धमा भयंकर दरार : एक अर्कामाथि गम्भीर आरोप, अमेरिकी राजनीतिको केन्द्रमा पहिरो

काठमाडाैं, २३ जेष्ठ । विश्वकै धनी व्यक्ति एलन मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्बन्धमा आएको खटपटले अमेरिकी राजनीतिको तापक्रम एक्कासी उच्च बनाएको छ। केही समयअघि एक–अर्कालाई सार्वजनिक रूपमै समर्थन गर्ने यी दुई शक्तिशाली व्यक्तित्व अहिले सामाजिक सञ्जालमार्फत आक्रोशजनक शब्दवाण हानिरहेका छन्।
केही दिनअघि मस्कले एक्स (पहिला ट्वीटर) मा लेखे, “@realDonaldTrump इपस्टिन फाइलमा छन्।यही कारण ती सार्वजनिक भएका छैनन्।” मस्कको यो टिप्पणीले अमेरिकी राजनीतिक वृत्तमा भूचाल ल्याएको छ।
त्यसपछि डोनाल्ड ट्रम्पको जवाफ झनै चर्को थियो। उनले मस्कलाई सरकारद्वारा दिइने सबै सरकारी सहायता र कन्त्रयाक्टहरू समाप्त गर्ने धम्की दिँदै भने, “बजेट बचाउनको सबैभन्दा सजिलो उपाय एलन मस्कलाई दिइएका अरबौं डलरका अनुदानहरू रोक्नु हो।”
पहिला मित्र, अहिले कट्टर प्रतिद्वन्द्वी
ट्रम्पले सन् २०२४ को राष्ट्रपति चुनावमा मस्कलाई ‘सुपर जिनियस’ भन्दै खुलेर समर्थन गरेका थिए। मस्कले पनि ट्रम्पको विजयपछिको दिनमा अमेरिकी झण्डालाई सलामी दिँदै, “अमेरिकामा फेरि बिहान भएको छ” भनेर लेखेका थिए।
तर, यो सम्बन्ध गत साता एकाएक चिसिएको छ। ट्रम्पले मस्कलाई ह्वाइट हाउसबाट हटाएपछि मस्कले नयाँ बजेट विधेयकलाई ‘घृणित विकृति’ भन्दै आलोचना गरे। उनले ट्रम्पको बजेटले राष्ट्रिय ऋण बढाउने चेतावनी समेत दिएका छन्।
इपस्टिन फाइल र अन्तर्राष्ट्रिय प्रभाव
एलन मस्कले डोनाल्ड ट्रम्पमाथि बाल यौन तस्करी आरोपी जेफ्री इपस्टिनसँग सम्बन्ध रहेको गम्भीर आरोप लगाएका छन्। मस्कले ट्रम्पको नाम इपस्टिन फाइलमा भएको र त्यसैले ती सार्वजनिक हुन नसकेको दाबी गरेका छन्।
यो आरोपपछि मस्कको आलोचनामा ट्रम्प पनि चुप लागेनन्। उनले मस्कलाई ‘क्रेजी’ भन्दै सरकारका सबै ठेक्का र सहयोगहरू काट्ने धम्की दिए। यसैबीच ह्वाइट हाउसले मस्कको इपस्टिनसम्बन्धी दाबीको खण्डन गर्दै त्यसलाई ‘मनगढन्ते र अनैतिक’ भनेको छ।
आर्थिक झट्कासमेत
मस्कको ट्रम्पसँगको सम्बन्ध विग्रिएपछि बजारमा त्यसको असर तुरुन्तै देखिएको छ। टेस्लाको सेयर मूल्य १४ प्रतिशतले घटेको छ। विश्लेषकहरूका अनुसार, यो विवाद मस्कको व्यवसायमा गम्भीर असर पुर्याउनसक्ने छ।