अन्तर्राष्ट्रिय बजारमा १३ वर्षयताकै उच्च चाँदीको मूल्य, नेपालमा पनि ४४ प्रतिशतले बढ्यो

काठमाडाैं, २७ जेष्ठ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य १३ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। सोमबारको तथ्यांकअनुसार, चाँदीको मूल्य प्रति औंस ३६.४२ अमेरिकी डलर पुगेको छ, जुन सन् २०१२ फेब्रुअरीयताकै उच्च मूल्य हो।
अन्तर्राष्ट्रिय सञ्चार संस्था एफएक्स स्ट्रिटका अनुसार, हालको मूल्य १३ वर्षयता चाँदीको सबैभन्दा महंगो दर हो। यसअघि दि वाल स्ट्रिट जरनलले प्रकाशित गरेको रिपोर्टमा चाँदीको मूल्य प्रति औंस ३५.६८ डलर रहेको र यो दर पनि १३ वर्षमा पहिलो पटक पुगेको उच्चतम दर भएको जनाइएको थियो।
भारतमा समेत चाँदीको मूल्य ऐतिहासिक उच्च
भारतीय सञ्चार माध्यम CNBCTV18 का अनुसार भारतमा चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। त्यहाँ चाँदी प्रतिकेजी १,०६,४०० भारु मा कारोबार भइरहेको छ। केवल एक साताभित्रै चाँदीको मूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको जनाइएको छ।
भारतमा चाँदीको मूल्य वृद्धिको दर सुनको तुलनामा अझ तीव्र छ। औद्योगिक प्रयोगमा चाँदीको माग बढ्नु, अमेरिकी डलर कमजोर हुँदै जानुजस्ता कारणहरूले अन्तर्राष्ट्रिय बजारमा यसको मूल्यमा तीव्र वृद्धि आएको विश्लेषणहरूमा उल्लेख छ।
चाँदीमा लगानीबारे विशेषज्ञको मिश्रित प्रतिक्रिया
अमेरिकास्थित Capital Choice of the Carolinas का प्रमुख कार्यकारी अधिकृत रोनी गिलिकिनले MSN सँगको कुराकानीमा चाँदीको मूल्यमा दीर्घकालीन उतारचढाव हुने बताएका छन्। उनका अनुसार चाँदीले वार्षिक रूपमा औसत ४ प्रतिशत प्रतिफल दिने भए पनि, यसको अस्थिरता र सेयर बजारको तुलनात्मक उकालो यात्राका कारण लगानीकर्ताहरूको लागि यो उपयुक्त विकल्प नहुन सक्ने बताएका छन्।
तर उनले यसैगरी भनाइ दिएका छन् कि, सुनको तुलनामा चाँदी सस्तो र सुरक्षित हुने भएकाले जोखिमप्रेमी लगानीकर्ताहरू यसको आकर्षणमा पर्न सक्ने सम्भावना पनि उत्तिकै छ।
नेपालमा पनि उल्लेखनीय वृद्धि
नेपालमा चाँदीको मूल्यमा पछिल्ला महिना दिनयता स्थिरता देखिए पनि, दीर्घकालीन रूपमा हेर्दा चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको देखिन्छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हाल चाँदीको मूल्य प्रति तोला २,१५० रूपैयाँ रहेको छ।
२०७९ चैतमा चाँदीको मूल्य १,४९० रूपैयाँ प्रतितोला रहेको थियो। त्यसयता हालसम्मको मूल्यमा ४४ प्रतिशतले वृद्धि भएको हो, जुन नेपाली लगानीकर्ताका लागि पनि ध्यान दिने विषय बनेको छ।