Date

आइत, असार १, २०८२
Sun, June 15, 2025

शिर्षक: ट्रम्पले नेतान्याहुलाई गाजामा युद्ध अन्त्य गर्न र इरानमाथिको आक्रमण योजनाबाट पछि हट्न आग्रह

शिर्षक: ट्रम्पले नेतान्याहुलाई गाजामा युद्ध अन्त्य गर्न र इरानमाथिको आक्रमण योजनाबाट पछि हट्न आग्रह

काठमाडाैं, २९ जेष्ठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजामा जारी युद्ध तत्काल अन्त्य गर्न र इरानमाथिको सम्भावित सैनिक कारबाहीबारे सार्वजनिक टिप्पणी नगर्न आग्रह गरेका छन्। सीएनएनले स्रोत उद्धृत गर्दै रिपोर्ट गरेको छ कि दुबै नेताबीचको टेलिफोन वार्ता सोमबार सम्पन्न भएको हो।

यो वार्ता हमास र अमेरिकी पक्षबीच भइरहेको अप्रत्यक्ष युद्धविराम वार्ता तथा इरानसँगको आणविक सम्झौता प्रयासको सन्दर्भमा भएको हो।

ट्रम्पले वार्तालाई “सकारात्मक र सहज” भने पनि सीएनएनका अनुसार हालका हप्ता इजरायल–गाजा संघर्षका कारण नेतान्याहु र ट्रम्पबीच सम्बन्धमा चिसोपन आएको छ। ट्रम्पले नेतान्याहुलाई इरानमाथिको आक्रमणको योजना सार्वजनिकरूपमा नबोल्न र सैन्य योजनाका विवरण चुहावट नगर्न आग्रह गरेको जनाइएको छ।

तर, नेतान्याहुले इरान वार्ताको माध्यमबाट समय तान्न खोजिरहेको र वास्तविक सम्झौतामा तयार नरहेको जवाफ दिएको बताइएको छ।

यसैबीच, युद्धविराम वार्तामा केही प्रगति भएको नेतान्याहुको कार्यालयले जनाउँदै मंगलबार राति उनले मन्त्रिपरिषद्को आकस्मिक बैठकसमेत बोलाएका थिए। इजरायली विदेश मन्त्री गिदेओन साअरले पनि प्रगतिको संकेत दिएका छन्, यद्यपि उनले अत्यधिक आशावादिता देखाउन नहुने चेतावनीसमेत दिएका छन्।

हमासले पनि अमेरिकी प्रस्तावलाई अस्वीकार नगरेको तर भावी इजरायली आक्रमण विरुद्ध ठोस ग्यारेन्टी खोजिरहेको जनाएको छ।

यता, अमेरिका–इजरायलबीचको सम्बन्ध झनै बिग्रिंदै गएको देखिन्छ। हालैको अमेरिकी मध्यपूर्व भ्रमणमा इजरायललाई बाइपास गर्दै यमनका हुती लडाकूसँग युद्धविराम सम्झौता भए पनि इजरायलमाथिको क्षेप्यास्त्र आक्रमण रोक्न नसकेको इजरायली आलोचना छ।

त्यसैगरी, सिरियामाथिका प्रतिबन्ध हटाउने अमेरिकाको निर्णयप्रति पनि इजरायल असन्तुष्ट देखिएको छ।

अमेरिकी प्रशासन अब अब्राहम सम्झौता विस्तार गर्दै साउदी अरेबियालाई समेत समावेश गर्न प्रयासरत छ। तर, रियाधले इजरायलसँग सम्बन्ध सामान्यीकरणका लागि फिलिस्तिनी राज्य निर्माणको दिशामा ठोस कदम चाल्नुपर्ने अडान दोहोर्याएको छ।

यसैबीच, इजरायलका लागि अमेरिकी राजदूत माइक हक्काबीले ब्लूमबर्गसँगको कुराकानीमा दुई-राष्ट्र समाधान अब अमेरिकी नीतिको प्राथमिकता नरहेको बताए।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *