Date

शनि, साउन २४, २०८२
Sat, August 9, 2025

ट्रम्पद्वारा घोषणा— अमेरिका–चीन व्यापार वार्ता सफल, रेअर अर्थ आपूर्ति खुला, भिसा नीति फिर्ता

ट्रम्पद्वारा घोषणा— अमेरिका–चीन व्यापार वार्ता सफल, रेअर अर्थ आपूर्ति खुला, भिसा नीति फिर्ता

काठमाडाैं, २९ जेष्ठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच लन्डनमा सम्पन्न दुईदिने व्यापार वार्तालाई “सफल र ऐतिहासिक मोड” को संज्ञा दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मार्फत दुई ठूला अर्थतन्त्रबीचको व्यापार द्वन्द्व मत्थर हुने संकेत दिएका हुन्।

दुई देशबीचको पछिल्लो सहमतिको मूल विषय अमेरिका–चीन व्यापार तनावको समाधान र आपसी विश्वास पुनःनिर्माणमा केन्द्रित रहेको देखिन्छ। सम्झौता अनुसार चीनले अबदेखि अमेरिकी कम्पनीहरूलाई स्मार्टफोन, विद्युतीय सवारी तथा उच्च प्रविधिमा प्रयोग हुने ‘रेअर अर्थ मेटल्स’ (दुर्लभ धातु) को आपूर्ति पुनः सुरु गर्नेछ।

त्यसको सट्टामा अमेरिका भने चिनियाँ विद्यार्थीहरूको भिसा रद्द गर्ने निर्णय फिर्ता लिनेछ। पछिल्लो वर्ष अमेरिकाले प्राविधिक शिक्षा अध्ययन गर्न आउने थुप्रै चिनियाँ विद्यार्थीहरूको भिसा अस्वीकार गरिरहेको थियो, जसप्रति चीनले तीव्र असन्तुष्टि जनाएको थियो।

यो सम्झौता सन् २०२५ को मे महिनामा भएको अस्थायी व्यापार युद्धविरामपछि उत्पन्न नयाँ जटिलताहरू समाधान गर्न गरिएको वार्ताको नतिजा हो। त्यसबेलामा दुवै पक्षले एक–अर्काको सामानमा १४५ प्रतिशतसम्म भन्सार शुल्क लगाएका थिए, जसले अन्तर्राष्ट्रिय बजारमा अनिश्चितता ल्याएको थियो।

यता, अमेरिकी अर्थसचिव स्कट बेशेन्टले केही “आक्रामक कर नीति” लाई हाललाई स्थगन गर्ने तयारी भएको जनाएका छन्। उनका अनुसार यो सहमति मात्र चीनसँग होइन, अन्य देशहरूसँग पनि व्यापार वार्ताको ढोका खोल्न प्रेरक बन्नेछ।

राष्ट्रपति ट्रम्पले भने आगामी केही हप्ताभित्र अन्य देशहरूसँग पनि एकपक्षीय शुल्क दरबारे स्पष्ट सन्देश पत्रमार्फत पठाइने बताएका छन्। बीबीसीले ट्रम्पको भनाइ उद्धृत गर्दै जुलाई ९ अघि नै नयाँ व्यापार नीति सम्बन्धी प्रस्ताव प्रस्तुत हुने उल्लेख गरेको छ।

यसैबीच, चिनियाँ उप–वाणिज्य मन्त्री ली चेङ्गगाङले जेनेभामा सम्पन्न राष्ट्रप्रमुखहरूबीचको उच्चस्तरीय वार्ताबाट सैद्धान्तिक सहमति जुटेको बताएका छन्। उक्त सहमति अनुसार अब ९० दिनभित्र पूर्ण व्यापार सम्झौता गर्ने गरी प्राविधिक स्तरमा कार्य अगाडि बढाइने छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *