Date

शनि, जेष्ठ ३१, २०८२
Sat, June 14, 2025

१० महिनामा वाणिज्य बैंकहरुले कमाए झण्डै ४८ अर्ब नाफा, नबिलको अग्रता यथावत्

१० महिनामा वाणिज्य बैंकहरुले कमाए झण्डै ४८ अर्ब नाफा, नबिलको अग्रता यथावत्

काठमाडाैं, ३० जेष्ठ । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि बैशाख मसान्तसम्मको १० महिनामा वाणिज्य बैंकहरूले झण्डै ४८ अर्ब नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकबाट सार्वजनिक भएको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरूले यस अवधिमा ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन्।

यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने १.६७ प्रतिशतले घटेको हो। गत आवको सोही अवधिमा बैंकहरूले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका थिए।

राष्ट्र बैंकको विवरण अनुसार समिक्षा अवधिमा १० वटा बैंकको नाफा वृद्धि भएको छ भने अन्य १० वटाको नाफा घटेको छ।

नाफा गर्नेमा नबिल अगाडि, ग्लोबल र एनआइएमबि प्रतिस्पर्धी

सबैभन्दा धेरै नाफा कमाउने सूचीमा नबिल बैंक अग्रस्थानमा छ। बैंकले १० महिनामा ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो आवको तुलनामा २.५९ प्रतिशत बढी हो।

त्यसपछि ग्लोबल आइएमई बैंकले ५ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ। यस अवधिमा बैंकको नाफा २९.८९ प्रतिशतले बढेको हो। अघिल्लो आवमा ग्लोबल आइएमईले ४ अर्ब १२ करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो।

तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि) ले ५ अर्ब २ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३३.१४ प्रतिशतको वृद्धि हो।

नेपाल बैंकको नाफामा उच्चतम वृद्धिदर

नाफा वृद्धिदरको हिसाबले नेपाल बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकको नाफा ४५७.१२ प्रतिशतले वृद्धि भएर ३ अर्ब २८ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

यसैगरी, एभरेष्ट बैंकको नाफा ३०.९७ प्रतिशतले बढेर ३ अर्ब ९० करोड ३३ लाख रुपैयाँ पुगेको छ।

माछापुच्छ्रे बैंकको नाफा १८.७४ प्रतिशतले बढेर १ अर्ब ३१ करोड ३५ लाख रुपैयाँ, लक्ष्मी सनराइजको १०.२० प्रतिशत, सानिमा बैंकको ७.१० प्रतिशतले बढेर १ अर्ब ८७ करोड ५ लाख रुपैयाँ पुगेको छ। एनएमबि बैंकको नाफा ५.५६ प्रतिशतले बढेर २ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ पुगेको छ। सिद्धार्थ बैंकले २ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ, जुन १.६९ प्रतिशतको वृद्धि हो।

१० बैंकको नाफा घट्दा एनआइसी एशिया सबैभन्दा प्रभावित

नाफा घटाउने बैंकहरूको सूचीमा एनआइसी एशिया बैंक सबैभन्दा प्रभावित देखिएको छ। बैंकको नाफा ७७.८७ प्रतिशतले घटेर ४७ करोड ८७ लाख रुपैयाँमा सीमित भएको छ।

हिमालयन बैंकको नाफा पनि ६९.३४ प्रतिशतले घटेर ६८ करोड ३४ लाख रुपैयाँमा झरेको छ।

कुमारी बैंकको नाफा ६६.२८ प्रतिशत, कृषि विकास बैंकको ३५.७३ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३०.९३ प्रतिशत, सिटिजन बैंकको २१.४० प्रतिशत र प्रभू बैंकको २०.९० प्रतिशतले घटेको छ।

तथ्याङ्क अनुसार, समिक्षा अवधिमा कुमारी बैंकले ४८ करोड १९ लाख, कृषि विकासले १ अर्ब ७३ करोड ३८ लाख, राष्ट्रिय वाणिज्यले १ अर्ब ७७ करोड ४ लाख, सिटिजनले १ अर्ब १८ करोड १५ लाख, र प्रभू बैंकले २ अर्ब १४ लाख रुपैयाँ नाफा कमाएका छन्।

यसैगरी, प्राइम बैंकको नाफा १९.८५ प्रतिशतले घटेर २ अर्ब ५८ करोड ५५ लाख, स्ट्याण्डर्ड चार्टर्डको ११.९८ प्रतिशतले घटेर २ अर्ब ३४ करोड ६४ लाख, र नेपाल एसबिआईको नाफा २.८७ प्रतिशतले घटेर १ अर्ब ३८ करोड २० लाख रुपैयाँमा झरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *