उच्च अदालतका न्यायाधीश नियुक्तिको लागि न्याय परिषद्को बैठक शुक्रबार बिहानैदेखि जारी

काठमाडाैं, ३० जेष्ठ । उच्च अदालतका न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्को बैठक शुक्रबार बिहानैदेखि जारी छ।
परिषद् सचिवालयमा चलिरहेको उक्त बैठकको अध्यक्षता प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गरिरहेका छन्। वर्तमान अवस्थामा उच्च अदालतका २४ पद खाली छन्, जसलाई पुर्ति गर्न आजको बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ।
प्रचलित कानुनी व्यवस्था अनुसार उच्च अदालतमा न्यायिक अधिकृत, सरकारी वकिल, कानुनी अधिकृत तथा कानुन व्यवसायीहरूबाट न्यायाधीश नियुक्त गर्न सकिन्छ। सोही आधारमा आजको बैठकमा योग्य उम्मेदवारहरूको नाम सिफारिस गरिने सम्भावना रहेको छ।
यसअघि मङ्गलबार बसेको परिषद्को बैठकले सर्वोच्च अदालतका लागि तीन जना न्यायाधीश सिफारिस गरेको थियो। तर, त्यतिबेला एउटा पद भने खाली राखिएको थियो, जुन राजनीतिक सहमतिको अभावका कारण भएको बताइएको छ।