विदेशमन्त्री आरजु राणा द्वारा सञ्चारकर्मीलाई धम्की दिएको आरोप अस्वीकार, “नागरिकको समाचार भ्रामक र विकृत” भन्दै खण्डन

काठमाडाैं, ३० जेष्ठ । विदेशमन्त्री डा. आरजु राणा देउवाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई फोनमार्फत धम्की दिएको भनी नागरिक दैनिकमा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाउँदै ती दावीहरू अस्वीकार गरेकी छन्।
राणाले उक्त फोन वार्ता आफू र आफ्नो परिवारमाथि युट्युबमा प्रकाशित गरिएको एउटा भ्रामक र बदनियतपूर्ण भिडियोबारे जानकारी गराउने उद्देश्यले भएको स्पष्ट पारिन्। उनले भनिन्, “मिडियामा आएका समाचार विकृत र भ्रामक छन्। मैले कुनै किसिमको धम्की दिएको छैन। पत्रकारिता पेसाप्रति मेरो पूर्ण सम्मान छ।”
विदेशमन्त्री राणाका अनुसार सो भिडियोमा उनका छोरा जयवीर देउवाले काठमाडौंको हिल्टन होटलमा लगानी गरेको भनी गलत आशयका साथ आरोप लगाइएको छ। साथै, उक्त भिडियोमा उनका पति तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि जोडिएको छ र जयवीरको सम्पत्तिबारे प्रश्न उठाइएको छ।
उक्त भिडियो सञ्चारकर्मी दिलभुषण पाठकले आफ्नो युट्युब च्यानलमा अपलोड गरेका थिए। राणाले सो च्यानल कुनै आधिकारिक रुपमा दर्ता नभएको र त्यसले सञ्चार मापदण्डको उल्लंघन गरेको बताउँदै त्यसविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिइन्।
यस सम्बन्धमा काठमाडौं जिल्ला अदालतले पाठकमाथि साइबर अपराध अन्तर्गत पक्राउ पुर्जी जारी गरिसकेको र प्रहरीद्वारा सो कुरा पुष्टि भएको पनि राणाले बताइन्।
राणाले शोभा ज्ञवालीलाई फोनमार्फत् यसबारे जानकारी दिँदै सत्यतथ्य पुष्टि गरेर मात्र समाचार प्रकाशन गर्न आग्रह गरेकी थिइन्। तर, उनले व्यक्त गरेको चासोलाई धम्कीको रूपमा प्रचार गर्नु दुर्भाग्यपूर्ण रहेको राणाको भनाइ छ।
“म प्रेस स्वतन्त्रताको सम्मान गर्छु, तर त्यसको नाममा बदनाम र अपुष्ट सामग्री प्रसारण गर्नु गैरजिम्मेवार कार्य हो,” मन्त्री राणाले भनिन्। साथै, उनले जिम्मेवार पत्रकारिता आवश्यक रहेको र मिडियाले सत्यता पुष्टि गरेपछि मात्र सूचना सार्वजनिक गर्नुपर्नेमा जोड दिइन्।