सातै प्रदेशको बजेट आज सार्वजनिक हुँदै, प्रदेश १ देखि सुदूरपश्चिमसम्म कति कति ल्याउँदैछन् बजेट?

काठमाडाैं, १ असार । नेपालका सातै प्रदेश सरकारले आज (असार १ गते) आगामी आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) को वार्षिक बजेट सार्वजनिक गर्दैछन्। संविधान अनुसार प्रत्येक वर्ष असार १ गते प्रदेश सरकारले बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ। संघीय सरकारले यसअघि जेठ १५ गते (मे २९) नै आफ्नो बजेट सार्वजनिक गरिसकेको छ भने स्थानीय तहले असार १० गते (जुन २४) बजेट ल्याउने कार्यक्रम तय गरिएको छ।
कोशी प्रदेश:
कोशी प्रदेशले आगामी वर्षका लागि अनुमानित ३५ अर्बदेखि ४० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। आर्थिक विकास र पूर्वाधार विस्तारमा केन्द्रित हुने गरी बजेट तयार पारिएको स्रोतले जनाएको छ।
मधेश प्रदेश:
मधेश प्रदेशले करिब ४५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीमुखी कार्यक्रमलाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ।
बागमती प्रदेश:
देशकै सबैभन्दा ठूलो बजेट ल्याउने तयारीमा रहेको बागमती प्रदेशले आज दिउँसो ३ बजे प्रदेश सभा बैठकमार्फत करिब ६८ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्नेछ। राजधानी काठमाडौं रहेको यस प्रदेशमा पूर्वाधार, पर्यटन, र सामाजिक सुरक्षामा जोड दिइने अनुमान गरिएको छ।
गण्डकी प्रदेश:
गण्डकी प्रदेशले ३२ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। साना तथा माध्यम व्यवसायको प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र शिक्षा क्षेत्रमा लगानी बढाउने विषयमा बजेट केन्द्रित हुने बताइएको छ।
लुम्बिनी प्रदेश:
लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षको ३९ अर्ब रुपैयाँभन्दा केही कम बजेट ल्याउने तयारीमा रहेको स्रोतले जनाएको छ। खर्चको प्रभावकारिता र विकास योजनाको कार्यान्वयनमा विशेष जोड दिइने अपेक्षा गरिएको छ।
कर्णाली प्रदेश:
कर्णाली प्रदेशले करिब ३१ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरिरहेको छ। भौगोलिक रुपमा विकट क्षेत्र भएकाले स्वास्थ्य, शिक्षा र यातायात पूर्वाधारमा लगानी प्राथमिकतामा पर्नेछ।
सुदूरपश्चिम प्रदेश:
सुदूरपश्चिम प्रदेशले पनि करिब ३१ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। चालु आर्थिक वर्षकै समकक्ष बजेट ल्याउने तयारीमा रहेको प्रदेशले रोजगारी, कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रमा विशेष योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।