चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी असार १५ देखि बन्द हुने

चितवन, ९ असार । चितवन राष्ट्रिय निकुञ्ज (चिन) भित्र सञ्चालित जीप सफारी सेवा यही असार १५ गतेदेखि वर्षायामका कारण बन्द हुने भएको छ । वर्षायाममा निकुञ्जभित्र सवारी साधन प्रवेशमा कठिनाइ हुने भएकाले सफारी सेवा बन्द गर्न लागिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जले हरेक वर्ष वर्षायाममा जंगल सफारी बन्द गर्दै आएको छ । मनसुन सकिएपछि चाडपर्वहरू सुरु हुने समय अर्थात् असोजको मध्यतिर सफारी पुनः सञ्चालनमा आउँछ । यदि मनसुन लम्बिएमा सफारी खोल्ने समय पनि सोही अनुसार पछि सर्नेछ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले वर्षाका कारण बिग्रिएका सडक मर्मत गरेपछि जंगल सफारी पुनः सञ्चालन गरिने जानकारी दिए ।
निकुञ्जभित्रको जंगल सफारी बन्द भए पनि निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनहरूमा जीप सफारी भने निरन्तर सञ्चालन हुने उनले बताए । यसका साथै, आरक्षभित्र पदयात्रा र गोही प्रजनन केन्द्रको अवलोकन लगायतका पर्यटक गतिविधिहरू नियमित रूपमा सञ्चालन हुनेछन् ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले विश्वभरका यस्ता निकुञ्जहरूमा हरेक वर्ष केही महिनाका लागि जंगल सफारी बन्द गर्ने प्रचलन रहेको बताए । उनका अनुसार, यसबाट अभयारण्यभित्रका वन्यजन्तुलाई असर पर्दैन र उनीहरूको जीवनयापन सहज हुन्छ ।
वर्षायाममा बाढी आउने, नदीहरू उर्लिने, रुखहरू ढल्ने, सडक चिप्लो र हिलो हुने तथा घाँस र झाडी बढेर वन्यजन्तुसमेत सजिलै नदेखिने कारणले पनि सफारी बन्द गर्नुपर्ने बताइएको छ ।
हाल सौराहा क्षेत्रबाट ३२ वटा, कसराबाट १० वटा, मेघौलीबाट सात वटा र अमलटारीबाट पाँच वटा जीपले पर्यटकलाई जंगल सफारी सेवा प्रदान गर्दै आएका छन् ।