थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्रा किन भइन् निलम्बित ?

काठमाडौँ, १७ असार । कम्बोडियाका पूर्व प्रधानमन्त्रीसँगको फोन कलको अडियो लिक भएपछि थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्रालाई निलम्बन गरिएको छ । संवैधानिक अदालतले प्रधानमन्त्री शिनावात्रामाथि गम्भीर नैतिकताको उल्लंघन गरेको आरोप लगाउदै निलम्बनको आदेश दिएको बैंकक पोष्टले उल्लेख गरेको छ ।
अर्कोतर्फ, थाइल्याण्डका राजाले मंगलबार सरकारमा नयाँ मन्त्रिपरिषद् सदस्यहरूको नियुक्तिलाई स्वीकृति दिएका छन् ।
थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राले कम्बोडियाका पूर्व प्रधानमन्त्रीसँग गरेको कुराकानीको अडियो लिक भएपची विवाद शुरु भएको थियो । यसपछि थाइल्याण्डमा हंगामा मच्चियो र प्रधानमन्त्रीको राजीनामा माग्दै विरोध प्रदर्शन सुरु भयो । अडियो लिक भएपछि थाइल्याण्डमा संवैधानिक अदालतले लिक भएको कल प्रकरणमा प्रधानमन्त्री शिनावात्रालाई गम्भीर नैतिकताको उल्लंघन गरेको आरोप लगाइएको निवेदनमाथि विचार गर्ने अनुमान गरिएको थियो ।
संबैधानिक अदालतको आदेशपछि शिनावात्राले यो प्रक्रिया स्वीकार गर्ने र पालना गर्ने बताएकी छन् ।
के हो विवाद ?
पूर्व कम्बोडियाली प्रधानमन्त्री हुन सेनसँगको पेटोङ्टार्न शिनावात्राको कुराकानीको रेकर्डिङ लिक भएपछि थाइल्याण्डको राजनीति तरंगित भएको हो । सो रेकर्डिङ लिक भएपछि सीमा विवादको मुद्दामा दुई देशबीच नयाँ राजनीतिक हंगामा मच्चिएको छ । सरकारको एक प्रमुख सहयोगी गठबन्धनबाट बाहिरिएको थियो ।
पाटोङटार्न कम्बोडियाप्रति धेरै नरम दृष्टिकोण छ भन्ने विषयमा पहिले नै आलोचनाको सामना गरिरहेकी थिइन् । विशेष गरी दक्षिणपन्थी राष्ट्रवादीहरूबाट, जो उनका बुबा थाक्सिन शिनावात्रा (पूर्व प्रधानमन्त्री) का पुराना विरोधी हुन्, उनीहरुले यस्तो आरोप लगाउदै आएका थिए । मे ८ मा, थाइल्याण्ड र कम्बोडिया बीच सानो क्षेत्रमा हतियारसहित झडप भएको थियो । दुवै देशहरूले यसलाई आफ्नो हिस्सा मान्छन् । यसलाई ‘नाइन म्यान्स ल्याण्ड’ भनिन्छ । यसमा एक कम्बोडियन सैनिक मारिएका थिए ।
कम्बोडियाको संसदका सभामुख हुन सेनले फेसबुकमा कलको सम्पूर्ण १७ मिनेटको रेकर्डिङ पोस्ट गरे, यद्यपि यसको सानो भाग पहिले नै लीक भइसकेको थियो । हुन सेनले कुनै पनि गलतफहमी वा झूटा हल्लाबाट बच्नको लागि कल रेकर्ड गरेको बताए । उनले रेकर्डिङ कम्तिमा ८० जनालाई पठाएको बताएका थिए ।
रेकर्डिङमा पतोङटार्नले हुन सेनलाई ‘अंकल’ भनेर बोलाएको सुन्न सकिन्छ । दुई नेताहरूले झडप पछि लगाइएको सीमा प्रतिबन्ध हटाउने या नहटाउने भन्ने बारे दुवै देशका भाषा अनुवादक मार्फत कुराकानी गरेका थिए । पतोङटार्नले झडप भएको सीमा क्षेत्रको जिम्मेवारी सम्हालेका थाई सेनाका अधिकारीलाई ‘विरोधी’ भनेर बोलाएकोमा पनि विवाद उत्पन्न भएको छ । आलोचकहरू पतोङटार्नले हुन सेनलाई खुसी पार्न धेरै प्रयास गरिरहेको र यसले थाइल्याण्ड कमजोर देखिएको विश्लेषण गरेका छन् ।
यद्यपि, पतोङटार्नले उनीहरू बीचको वार्ता केवल वार्ता रणनीति थियो र उनीहरूको वास्तविक उद्देश्य दुई देशहरू बीच शान्ति ल्याउनु भएको बताउदै आएकी थिइन् ।
पाटोङटार्नले उनको र हुन सेनको परिवार बीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेको बताएकी छन् । उनका बुबा थाक्सिन शिनावात्रा र हुन सेन एकअर्कालाई ‘धार्मिक दाजुभाइ’ मान्छन् । २००९ मा, हुन सेनले थाक्सिनलाई कम्बोडियाली सरकारको सल्लाहकार बनाए, तर थाक्सिनले केही समय पछि राजीनामा दिए । रेकर्डिङ चुहावट भएको केही घण्टा पछि, भूमजैथाई पार्टी (जुन पाटोङटार्नको सरकारको सबैभन्दा ठूलो सहयोगी हो) ले सरकारबाट अलग भएको थियो । पार्टीले रेकर्डिङले थाइल्याण्डको सार्वभौमसत्ता, सीमा, राष्ट्रिय हित र सेनालाई हानि पुर्याउँने बताएर सरकार छोडेको थियो ।
विपक्षी नेता नट्टाफोङ रुआङपान्याभुतले संसद विघटन गर्नुपर्ने र नयाँ चुनाव गर्नुपर्ने बताएका थिए । उनले फोन कल चुहावटले जनताको सरकारमाथिको पूर्ण विश्वासलाई नष्ट गरेको बताएका थिए ।
अर्कोतर्फ धेरै मानिसहरूले स्थानीय सेना कमाण्डरमाथि पाटोङटार्नको टिप्पणी फेरि सैन्य विद्रोहको कारण बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेका बेला संबैधानिक अदालतले उनलाई निलम्बन गरेको छ । उनका बुबा थाक्सिन शिनावात्रालाई २००६ मा सेनाले सत्ताबाट हटाएको थियो । उनकी बहिनी यिंगलक शिनावात्रा २०११ मा प्रधानमन्त्री बनेकी थिइन् र उनलाई पनि २०१४ मा सेनाले सत्ताबाट हटाएको थियो ।