Date

मङ्ल, साउन ६, २०८२
Tue, July 22, 2025

अमेरिका प्रवेशका लागि थप बोझ: पर्यटक र विद्यार्थीले अब तिर्नुपर्नेछ ‘भीसा इन्ग्रिटी शुल्क’

अमेरिका प्रवेशका लागि थप बोझ: पर्यटक र विद्यार्थीले अब तिर्नुपर्नेछ ‘भीसा इन्ग्रिटी शुल्क’

काठमाडाैं, ६ साउन । अमेरिका भ्रमणको तयारी गरिरहेकाहरूका लागि अब नयाँ आर्थिक बोझ थपिएको छ। ट्रम्प प्रशासनको पछिल्लो घरेलु नीतिसम्बन्धी विधेयकमा समावेश प्रावधानअनुसार, अब अमेरिका प्रवेश गर्न चाहने सबै गैर-आप्रवासी आगन्तुकले ‘भीसा इन्ग्रिटी शुल्क’ तिर्नुपर्ने भएको छ।

सीएनएनको रिपोर्ट अनुसार, यो शुल्क हालको भिसा आवेदन शुल्कमा थप २५० अमेरिकी डलर वा सोभन्दा बढी हुन सक्नेछ। यो प्रावधान आर्थिक वर्ष २०२५ देखि लागू हुने छ र गृह सुरक्षा सचिवले तोकेको दरअनुसार वर्षेनि मुद्रास्फीति अनुसार समायोजन गरिने व्यवस्था पनि छ।

नयाँ शुल्क सबै गैर-आप्रवासी भीसा श्रेणीमा लागू हुनेछ — जसमा पर्यटक, व्यापारिक यात्रु, विद्यार्थी र अन्य अस्थायी आगन्तुकहरू पर्छन्। तथापि, भीसा वेभर कार्यक्रममा सहभागी जस्तै अष्ट्रेलिया, बेलायत, जर्मनीलगायतका युरोपेली देशहरूका नागरिकहरूलाई भने यो शुल्क लागु हुनेछैन — यदि उनीहरूले ९० दिन वा सोभन्दा कम अवधिका लागि अमेरिका यात्रा गर्दैछन् भने।

भिसा जारी गर्ने बेला नै यो शुल्क रिफन्डयोग्य धरौटीको रूपमा तिर्नुपर्नेछ। यात्रुहरूले यदि भीसाका सर्तहरूको पूर्ण पालना गरेमा र यात्रा सकिएको पुष्टि भएमा, यो शुल्क फिर्ता लिन सकिने व्यवस्था विधेयकमा उल्लेख छ। तर फिर्ता प्रक्रिया भने अझै स्पष्ट रूपमा परिभाषित भइसकेको छैन।

शुल्क फिर्ता नलिने यात्रुहरूको रकम भने अमेरिकी कोषाध्यक्षको सामान्य कोषमा जम्मा गरिनेछ।

अमेरिकी विदेश मन्त्रालयले यो प्रावधानको उद्देश्य आप्रवासन दुरुपयोग रोक्न, भीसा ओभरस्टे कम गर्न तथा सीमा सुरक्षा मजबुत बनाउन भएको बताएको छ।

तर अमेरिकी ट्राभल एसोसिएसनले भने नयाँ शुल्कले अमेरिका भ्रमण गर्न चाहने पर्यटकहरूका लागि अनावश्यक आर्थिक भार थपिएको भन्दै विरोध जनाएको छ। संस्थाका अनुसार यो शुल्कले अमेरिकी भ्रमणको पूर्वखर्च १४४ प्रतिशतले वृद्धि गराउनेछ।

विद्यार्थी र पर्यटकहरूको संख्या उच्च रहेको नेपालजस्ता विकासशील देशका नागरिकहरूका लागि यो नयाँ शुल्क अत्यधिक महँगो र हतोत्साहित गर्ने खालको हुने अनुमान छ।

अमेरिकी विदेश मन्त्रालयले नयाँ शुल्कसम्बन्धी सबै आधिकारिक जानकारी आफ्नो भिसा जानकारी पृष्ठमा क्रमशः प्रकाशित गर्ने जनाएको छ। यात्रुहरूलाई आफ्नो योजना बनाउनु अघि नयाँ शुल्कसम्बन्धी प्रावधानको अद्यावधिक विवरण अध्ययन गर्न सुझाव दिइएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *