Date

बुध, साउन ७, २०८२
Wed, July 23, 2025

आज १० अर्बको विकास ऋणपत्र निष्काशन हुँदै

आज १० अर्बको विकास ऋणपत्र निष्काशन हुँदै

काठमाडाैं, ७ साउन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (बुधबार) “विकास ऋणपत्र २०८५” शीर्षकमा रु १० अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ।

तीन वर्षे अवधिको उक्त ऋणपत्र बोलकबोल प्रक्रियामार्फत बिक्री गरिनेछ र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत दोस्रो बजारमा कारोबार गर्न मिल्ने व्यवस्था गरिएको छ। साथै, यसलाई सापटी लिन वा दिन धितोका रूपमा प्रयोग गर्न सकिने पनि जनाइएको छ।

बोलकबोल कार्यक्रम आज बिहान १० बजे देखि अपराह्न ३ बजेसम्म हुनेछ। ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ र यसबाट प्राप्त आम्दानी करयोग्य हुनेछ। मूलधन भने २०८५ साल श्रावण ८ गते फिर्ता गरिनेछ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, कुल निष्काशनमध्ये ८५ प्रतिशत (रु ८.५ अर्ब) प्रतिस्पर्धात्मक बोलकबोलकर्ताका लागि र १५ प्रतिशत (रु १.५ अर्ब) गैर-प्रतिस्पर्धात्मक बोलकबोलकर्ताका लागि छुट्याइएको छ।

यदि गैर-प्रतिस्पर्धात्मकतर्फ माग कम भयो भने बाँकी हिस्सा प्रतिस्पर्धात्मक बोलकबोलकर्तालाई दिइनेछ। तर यदि माग तोकिएको हिस्सा भन्दा बढी भयो भने अनुपातका आधारमा बाँडफाँड गरिनेछ।

सरकारले चालु आर्थिक वर्षमा रु ३६२ अर्ब बराबरको आन्तरिक ऋण संकलन गर्ने लक्ष्य राखेको छ, जसअन्तर्गत यो ऋणपत्र महत्त्वपूर्ण मानिएको छ।

रुचि राख्ने व्यक्ति तथा संस्थाहरूले प्रतिस्पर्धात्मक वा गैर-प्रतिस्पर्धात्मक दुबै प्रकारमा सहभागी हुन पाउनेछन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *