Date

आइत, साउन ११, २०८२
Sun, July 27, 2025

सबै वस्तुमा एमआरपी लागू गर्न कडाइ गर्दै, निर्णय पुनर्विचार गर्न व्यवसायीको दबाब

सबै वस्तुमा एमआरपी लागू गर्न कडाइ गर्दै, निर्णय पुनर्विचार गर्न व्यवसायीको दबाब

काठमाडौं, ७ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादन र आयात गरिएका सम्पूर्ण वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) एमआरपीसहितको लेबल नलगाई वस्तु बिक्री गर्न नपाइने व्यवस्था लागू गरेका छ ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा २ (च) मा उल्लेख भएको ‘बिक्रीका लागि बजार पठाउने वस्तुको लेबलमा उक्त वस्तुको मूल्य, ब्याच नम्बर र उत्पादन मिति लगायत ६ थरी विवरण खुल्ने लेबल टाँस्नुपर्ने’ प्रावधान गत चैत २० देखि अनिवार्य गरेको हो ।

स्वदेशमा उत्पादन वा विदेशबाट आयात गरिएका सबै वस्तुमा एमआरपी अनिवार्यरूपमा उल्लेख गर्न विभागले कडाइ गरेको छ । तर व्यापारीहरुले भने विरोध गरिरहेका छन्  ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बजारमा पारदर्शिता कायम गर्न र उपभोक्ता अधिकार सुनिश्चित गर्न एमआरपी अनिवार्य गरिएको जानकारी दिए ।

केही बिचौलियाहरु,चोरीका सामान ल्याउने, कालो बजारी गर्ने र सिमामा तस्करी गर्नेहरु एमआरपीको विपक्षमा खडा भएको आरोप लगाउँदै उनले यसरी एमआरपी लागू गरेर बजारमा नियमको स्थापना गर्नु एउटा राष्ट्र निर्माणको काम भएको तर्क राखे ।

उनले भने,‘आयातकर्ता र उद्योगीहरुको उत्पादन र वस्तुको विषयमा एमआरपी लगाउने कोशिस गरिरहेका छौं । कानून अनुसारको प्रयास हो । र एमआरपी लगाउने काम भनेको राष्ट्र निर्माणको काम हो । हामी यसको सुरुवातमा छौ । यहाँ जसले जति मन लाग्छ त्यति लिने हो भने त हामी झन अनिश्चितता तिर जान्छौ । बजारमा नियमको स्थापना गर्नु भनेको पनि एउटा राष्ट्र निर्माणको काम हो । त्यसकारण सबैजना खुशी हुनुहुन्छ । केही बिचौलियाहरु, चोरीका सामान ल्याउने, कालो बजारी गर्ने, सिमामा तस्करी गर्नेहरु एमआरपीको विपक्षमा छन् । कर नतिर्नेहरुको आवाज पनि हो । एमआरपी नलगाउने भन्ने कुरा, यीनिहरुलाई पनि नियममा ल्याउँछ ।’

त्यस्तै उनले अहिले बजारमा खराब व्यापारीबाट राम्रा व्यापारीहरुलाई दबाउने र निरुत्साहित गराउने काम भएको भन्दै एमआरपीले यस्ता कुरालाई नियन्त्रण गर्ने र व्यक्ति विशेष पहुँच घटाउने काममा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने,‘अहिले बजारमा के भईरहेको छ भने खराब व्यापारीले आफ्नो पहुँचको आधारमा राम्रा व्यापारीहरुलाई दबाउने, निरुत्साहित गराउने काम गरेको छन् । एमआरपीले यस्ता कुरालाई नियन्त्रण गर्ने र पहुँच घटाउने काम गर्छ । सहज तरिकाले जाने हो भने यस्तो कानून केही पनि चाहिदैँन् भनेर घोषणा गर्नुपर्यो होइन भने यसलाई अनिवार्य गर्नुपर्छ । यो ७५ सालमा आएको ऐन हो, यसलाई कार्यान्वयन गर्नुपर्छ भन्ने विभागको मान्यता हो ।’

देशभित्र कानूनको शासन लागू गरी बजारलाई बजार जस्तो बनाउने उद्देश्यले यो काम सुरु गरेको महानिर्देशक दाहाल बताउँछन् । एमआरपीलाई अनिवार्य रुपमा लागू गरेपछि बजारलाई अनौपचारिकताबाट जोगाएर सहि व्यापारी र आयातकर्तालाई प्रोत्साहन गर्ने उनको दाबी छ ।

उनले एमआरपी नलगाएको सामानहरु चोरी, कालो बजारीका हुन सक्ने भएकाले उपभोक्ताहरुलाई एमआरपी नलगाएको सामान खरिद नगर्न सुझाव समेत दिए ।

तर,व्यवसायीहरुले एमआरपी अनिवार्य रूपमा लागू गर्ने निर्णय तत्काल पुनर्विचार गर्न माग गरिरहेका छन् । नेपाल राष्ट्रिय व्यवसायी संघको अध्यक्ष मनोजबाबु श्रेष्ठले एमआरपी लागू गर्दा व्यवसायमा विभिन्न जटिलताहरु देखिने भएकाले निर्णय तत्काल पुनर्विचार गर्नुपर्ने धारणा राखे ।

उनले भने,‘सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य रूपमा लागू गर्ने निर्णय त एमआरपी लगाउन हामी तयार छौं । तर केही विविध जटिलताहरु यसमा भएको कारण केही कुराहर परिमार्जन गर्नुपर्ने हाम्रो माग छ ।’

यस्तै,सबै वस्तुमा एमआरपी लागू गर्ने सरकारको निर्णयले व्यवसायीहरूलाई थप निराश बनाउने र व्यवसाय नै छोड्न बाध्य बनाउने खतरा रहेको उनी बताउँछन् । परिमार्जन गरेर व्यवस्था लागू गर्न बारम्बार माग गर्दा पनि राज्यले नसुनेको बताउँदै उनले बजार भयावह अवस्थामा रहेको बेला चेकजाँच गर्ने र धरपकट गर्ने काम राज्यबाट नगर्न आग्रह गरे ।

उनले भने,‘सबै वस्तुमा एमआरपी लागू गर्ने सरकारको निर्णयले व्यवसायीहरूलाई थप निराश बनाउने तथा व्यवसाय नै छाड्न बाध्य बनाउने खतरा छ । पहिलेदेखि एमआरपी लागू गर्ने कुरामा केही अप्ठ्याराहरु थिए । परिमार्जन गरौं भनिराखेको छौं । तर राज्यले सुनिरहेको छैन् । बजार भयावह अवस्थामा छ । यो अवस्थामा आउने चेकजाँच गर्ने धरकपट गर्ने काम राज्यले नगरोस् ।’

एमआरपी लागू गर्ने भन्दा पनि हुने आयात गरेको सामानहरु सन्दर्भ मूल्यबाट आइरहेको  र धेरै भन्सार महशुल दरबन्दीहरु रहेको बताउँदै उनले दरबन्दीलाई न्यूनिकरण गर्न, र खुला सिमानाको कारण भएको चोरी पैठरी पूर्ण रुपमा नियन्त्रण गर्न सुझाव दिए ।

‘अहिले जतिपनि आयात गरेको सामानहरु छ । त्यो सन्दर्भ मूल्यबाट आइरहेको छ । धेरै भन्सार दरबन्दीहरु छ । दरबन्दीलाई न्यूनिकरण गरियोस् । जतिपनि साना उद्योगीहरु छन् । यो भारतबाट आइरहेको खुला सिमानाको कारण भएको चोरी पैठरी पूर्ण रुपमा नियन्त्रण गरियोस् अनि मात्र व्यवसायीहरुले खुला रुपमा व्यापार व्यवसाय गर्न सक्छन्,’उनले भने  ।

यसरी व्यापारीहरुको विरोधसँगै सरकारलाई एमआरपी लागू गर्न थप दबाब सृजना भएको छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *