१०औं राष्ट्रिय खेलकुद मंसिरमै सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडाैं, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो मंसिर महिनाभित्र १०औं राष्ट्रिय खेलकुद सम्पन्न गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नेतृत्वलाई समयमै प्रभावकारी तयारी गर्न निर्देशन दिएका छन्।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आइतवार आयोजित छलफलमा, प्रधानमन्त्री ओलीले राष्ट्रिय प्रतियोगिता केवल सामान्य कार्यक्रम नभई राष्ट्रिय गौरवको विषय भएको स्पष्ट पारे। विशेष गरी सन् २०२६ मा जापानमा आयोजना हुने एसियाली खेलकुदलाई ध्यानमा राख्दै, उनले राष्ट्रिय स्तरको तयारीलाई उच्च प्राथमिकता दिनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले “खेलकुद राष्ट्रिय एकता र सम्मानको प्रतीक हो, त्यसैले यसको तयारीमा भव्यता र मर्यादा हुनु आवश्यक छ” भन्दै सम्बन्धित निकायहरूलाई तयारीका लागि ठोस कार्ययोजना ल्याउन निर्देशन दिए।
छलफलमा उनले खेलकुदको मिति र स्थान यथाशीघ्र निर्धारण गर्न सुझाव दिँदै, एकपटक टुंगो लागेपछि पुन: परिवर्तन नगरिने स्पष्ट पारे। उनले राखेपका संरक्षकको हैसियतले मन्त्रालय र परिषदबीच सशक्त समन्वय हुनुपर्नेमा पनि जोड दिए।
उक्त छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, राखेपका उपाध्यक्ष ध्रुव आचार्य, र सदस्य–सचिव टंकलाल घिसिङ लगायत अन्य अधिकारीहरूको सहभागिता थियो।
प्रधानमन्त्रीको यो निर्देशनसँगै १०औं राष्ट्रिय खेलकुदको तयारीले थप गति लिने अपेक्षा गरिएको छ, जसले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका लागि नेपाललाई सशक्त रूपमा प्रस्तुत गर्न मद्दत पुर्याउनेछ।