Date

बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025

निर्जीवन बीमा कम्पनीको लगानी ६७ अर्ब नाघ्यो

निर्जीवन बीमा कम्पनीको लगानी ६७ अर्ब नाघ्यो

काठमाडाैं, ५ भदाै । नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको चौथो अर्थात् अन्तिम त्रैमाससम्म विभिन्न क्षेत्रमा ६७ अर्ब २३ करोड रुपैयाँभन्दा बढी लगानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार १४ निर्जीवन बीमा कम्पनीहरूले नियामक निकायको निर्देशिकाअनुसार लगानीको दायरा विस्तार गर्दै आएका हुन्।

बीमा कम्पनीहरूले विगतमा जस्तै केवल मुद्दती निक्षेपमा मात्र सीमित नरही शिक्षा, बैंकिङ, पूर्वाधार, पर्यटन, उद्योग, सौर्य ऊर्जा, स्वास्थ्यलगायत क्षेत्रमा समेत पूँजी प्रवाह बढाएका छन्।

सबैभन्दा बढी लगानी गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अगाडि देखिएको छ, जसले समीक्षा अवधिमा ७ अर्ब ९९ करोड ५८ लाख रुपैयाँ लगानी गरेको छ। त्यसपछि राष्ट्रिय बीमा कम्पनीले ७ अर्ब ७७ करोड १० लाख रुपैयाँ र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ७ अर्ब २७ करोड ६८ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन्।

त्यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ५ अर्ब १५ करोड ६ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ६ अर्ब ४८ करोड १० लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ४ अर्ब ८९ करोड ८ लाख रुपैयाँ, र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४ अर्ब ८० करोड ३९ लाख रुपैयाँ लगानी गरेका छन्।

यस्तै, नेपाल इन्स्योरेन्सको लगानी ४ अर्ब ४३ करोड ५४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ३ अर्ब ८८ करोड २८ लाख रुपैयाँ, द ओरियण्टल इन्स्योरेन्सको ३ अर्ब २४ करोड ११ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सको ३ अर्ब ४६ करोड १३ लाख रुपैयाँ, र युनाइटेड अजोड इन्स्योरेन्सको ३ अर्ब ७६ करोड ६८ लाख रुपैयाँ रहेको छ।

त्यसैगरी, नेशनल इन्स्योरेन्सले २ अर्ब ८९ करोड ६३ लाख रुपैयाँ, र प्रभु इन्स्योरेन्सले १ अर्ब १७ करोड ७६ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन्।

क्षेत्रगत हिसाबले, बीमा कम्पनीहरूले ५१ अर्ब ९२ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाका मुद्दती निक्षेपमा, ४ अर्ब ४२ करोड रुपैयाँ सूचीकृत कम्पनीका शेयरमा, २ अर्ब ८९ करोड रुपैयाँ अग्राधिकार शेयर, बन्ड र डिबेन्चरमा, र १ अर्ब ७० लाख रुपैयाँ नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा लगानी गरेका छन्। साथै, पर्यटन, उद्योग, सौर्य ऊर्जा, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ।

बीमा प्राधिकरणले बीमा कम्पनीलाई जारी गरेको लगानी निर्देशिकाले गर्दा अब निर्जीवन बीमा कम्पनीहरूको पूँजी विभिन्न क्षेत्रमा प्रवाह हुँदै गएको देखिएको छ, जसले दीर्घकालीन अर्थतन्त्रमा सकारात्मक योगदान गर्ने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *