Date

बिहि, भदौ १९, २०८२
Thu, September 4, 2025

नेपाल ‘ए’ को लगातार दोस्रो जित, असमलाई ९ रनले पराजित

नेपाल ‘ए’ को लगातार दोस्रो जित, असमलाई ९ रनले पराजित

काठमाडाैं, १५ भदाै । नेपाल ‘ए’ क्रिकेट टिमले असम क्रिकेट एसोसिएसनविरुद्धको पाँच खेलको टी–२० अभ्यास श्रृंखलामा लगातार दोस्रो जित दर्ता गरेको छ। शनिबार राति सम्पन्न रोमाञ्चक खेलमा नेपालले असमलाई ९ रनले पराजित गर्दै श्रृंखलामा २–१ को अग्रता हासिल गरेको हो।

नेपालको जितमा सन्दीप जोराको चम्किलो अर्धशतक निर्णायक रह्यो। उनले ४८ बलमा ७४ रन प्रहार गर्दै टिमलाई उच्च स्कोर बनाउन मद्दत गरे।

पहिले टस गुमाएर ब्याटिङका लागि पठाइए पनि नेपालले पूरा २० ओभर खेल्दै ६ विकेट गुमाएर १९६ रन बनायो। जोराको ७४ रन बाहेक, अदिल आलम ३५, तृतीयराज दास ३३ र कप्तान अनिलकुमार साह ३१ रनको योगदान उल्लेखनीय रह्यो। असमका आकाश सेङगुप्ताले दुई विकेट लिए।

लक्ष्य पछ्याएको असमले बलियो प्रदर्शन गरे पनि २० ओभरमा १८७ रनमै समेटियो। उनीतर्फबाट निहार डेका ४०, कप्तान सुमित घडिगाओंकर ३६ र अब्दुल अजीज ३१ रन बनाए।

नेपालका बलरहरूले सन्तुलित प्रदर्शन गरे। कमल सिंह ऐरी, आकाष चन्द, विवेककुमार यादव र बासिर अहमदले २–२ विकेट हात पारे भने अदिल आलमले १ विकेट लिएका थिए।

यसअघि नेपालले पहिलो खेल डकवर्थ–ल्युइस पद्धतिमा १५ रनले गुमाएको थियो। तर दोस्रो खेलमा ९६ रनको विशाल जित निकाल्दै श्रृंखलामा फर्किएको हो।

अब नेपाल र असमबीचको चौथो टी–२० अभ्यास खेल आइतबार साँझ हुनेछ भने निर्णायक अन्तिम खेल सोमबार खेलिनेछ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *