आइतबारदेखि दशैंको टिकट बुकिङ खुल्ला गरिने

काठमाडौैं, २० भदौ । यातायात व्यवस्था विभागले यस वर्षको दसैंका लागि अग्रिम टिकट बुकिङ भदौ २४ गतेबाट खुला गर्ने भएको छ । दसैं मनाउन राजधानीबाहिर जाने सर्वसाधारणको सहजताका लागि यस वर्ष चाँडै नै टिकट बुकिङ खुला गरिएको छ ।

यातायात क्षेत्रमा व्यवसायीको एकाधिकार हटाउन चैत १८ मा जारी गरेको नयाँ निर्देशिकापछि पहिलो पटक अग्रिम बुकिङ टिकट खोल्न लागेको छ । सिन्डिकेट हटेपछि पुराना यातायात समिति हटिसकेका कारण उपत्यका बाहिरिने गाडीको संख्यामा केही कमी हुने अनुमान गरिएको छ ।
तराई क्षेत्रका लागि भने नयाँ कम्पनीहरुले सुविधासम्पन्न बससेवा सञ्चालन गरेको भएपनि पहाडी क्षेत्रमा भने त्यसको अभाव देखिन्छ। उपत्यकामा आएर बसोबास गरिरहेका काठमाडौं बाहिरका बासिन्दाहरु करिब ५० लाखको हाराहारीमा दशैं मनाउन बाहिरिने गर्छन् । यात्रुको चाप उच्च रहेकाले अहिले उपलब्ध सवारी साधनले मात्र धान्न नसक्ने विभागले जनाएको छ ।

यातायात व्यवसायीले २४ गतेबाट सरकारले खोल्न लागेको अग्रिम बुकिङ टिकटबारेमा थप छलफल हुनुपर्ने माग राखेका छन् । यातायात व्यवसायीलाई स्वतन्त्र रुपमा सवारी सञ्चालन गर्न अप्ठ्यारोे पारेको भन्दै उनीहरुले असन्तुष्टि पोखेका छन् ।
“यातायात व्यवसायी पनि सर्वसाधारण यात्रुलाई सेवा पुर्याउनै आएका हौं,” नेपाल यातायात व्यावसायी महासंघका महासचिव सरोज सिटौलाले भने, “सरकारले यातायात समिति नवीकरणमा रोक लगायो, तर नयाँ गाडी नथप्दा यो दसैंमा गाडीको अभाव हुने प्रष्ट छ ।”

सिन्डिकेट हट्नुअघि काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने छोटो तथा लामो दूरीका सार्वजनिक सवारीको संख्या करिब ३ लाख ५० हजारमध्ये समिति नवीकरण नभएका कारण त्यस्ता समितिले दसैंमा गाडी चलाउने कि नचलाउने भन्नेमा अन्योल देखिएको सिटौलाले बताए ।

साथै सरकारले २०६९ सालकै भाडादर हालसम्म कायम गरेकाले भाडादरमा आवश्यक संशोधन हुनुपर्ने पनि व्यवसायीले माग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *