Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

एनसेलको दृढ संकल्प : संकटमा पनि सेवा अविराम

एनसेलको दृढ संकल्प : संकटमा पनि सेवा अविराम

काठमाडाैं, ३० भदाै । हालैको आन्दोलनका क्रममा भएको तोडफोडले दूरसञ्चार प्रदायक एनसेल नेपालका विभिन्न कार्यालयहरूमा ठूलो क्षति पुर्‍याएको छ। कम्पनीले सार्वजनिक गरेको विज्ञप्तिअनुसार काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखराका क्षेत्रीय कार्यालयहरूमा गम्भीर भौतिक क्षति पुगेको पुष्टि गरिएको छ।

एनसेलले कार्यालयहरूमा भएको तोडफोडका कारण कर्मचारीहरूको सुरक्षामा समेत गम्भीर चुनौती उत्पन्न भएको जनाएको छ। यद्यपि, कठिन परिस्थितिमा पनि कम्पनीले देशभर दूरसञ्चार सेवा निरन्तर उपलब्ध गराउने आफ्नो मूल उद्देश्यलाई रोक्न नदिँदै तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा प्रदान गर्‍यो।

२० वर्षदेखि नेपाली जनतामाझ सेवा पुर्‍याउँदै आएको एनसेलले ग्राहकप्रतिको प्रतिबद्धता अझै मजबुत रहेको बताएको छ। अन्तरिम सरकारको नेतृत्वमा नयाँ अध्याय सुरु हुँदै गर्दा कम्पनीले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै युवाको नेतृत्वमा आएको परिवर्तनलाई स्वागत गरेको छ। एनसेलका अनुसार यो परिवर्तनले देशमा एकता, शान्ति र समृद्धिको नयाँ युग ल्याउने अपेक्षा गरिएको छ।

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा रोजगारी सिर्जना, आर्थिक वृद्धिमा योगदान र डिजिटल नेपाल निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कम्पनीले आगामी दिनमा अझ दृढ संकल्पका साथ जनसेवामा अघि बढ्ने प्रतिवद्धता दोहोर्याएको छ।

आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभेच्छा प्रकट गर्दै एनसेलले देश र जनताप्रति आफ्नो सहानुभूति व्यक्त गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *