लिबर्टी माइक्रो लाइफको पहल: बीमाशुल्कमा शतप्रतिशत बिलम्ब शुल्क छुट

काठमाडाैं, २३ असाेज । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ग्राहकहरूका लागि विशेष राहत योजना घोषणा गरेको छ। कम्पनीले बीमालेख नवीकरण तथा पुनर्जागरण गर्दा बक्यौता बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो।
कम्पनीले जारी गरेको सूचनाअनुसार, यो विशेष छुट योजना भदौ १५ गतेदेखि सुरु भई मंसिर मसान्तसम्म लागू रहनेछ। यस अवधिमा बीमालेख नवीकरण गर्ने बीमितहरूले कुनै पनि प्रकारको विलम्ब शुल्क तिर्नु नपर्नेछ।
लिबर्टी माइक्रो लाइफले ग्राहक, अभिकर्ता तथा सरोकारवाला सबैलाई जानकारी गराउँदै समयमै बीमालेख नवीकरण गरी “सुरक्षित भविष्य सुनिश्चित गर्न” आह्वान गरेको छ। कम्पनीका अनुसार, यो योजना “बीमा सचेतना र नियमित बीमा संस्कार” प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको हो।
कम्पनीले भनेको छ, “समयमै बीमालेख नवीकरण गर्नु सबैको जिम्मेवारी हो। मंसिर मसान्तभित्र यो सीमित अवसरको लाभ लिन सबै बीमितहरूलाई अनुरोध गर्दछौं।”
बीमा क्षेत्रका जानकारहरूका अनुसार, यस्तो प्रकारको छुट योजनाले ग्रामीण तथा साना आयसमूहका बीमितहरूलाई बीमा निरन्तरता दिन सहजता पुर्याउनेछ र बीमा पहुँच विस्तारमा योगदान पुर्याउनेछ।