जनता केबलको व्यापार ६२% वृद्धि, नाफा भने स्थिर

काठमाडाैं, २६ असाेज । जनता केबल इन्डस्ट्रीज प्रालिले एक वर्षमै आफ्नो व्यापार ६२ प्रतिशतले बढाउन सफल भएको छ। कम्पनीले सन् २०२५ मा कुल १ अर्ब ४९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको जनाएको छ, जुन सन् २०२४ को ९२ करोड १० लाख रुपैयाँको तुलनामा ६२.२१ प्रतिशतले बढी हो।
विराटनगरस्थित उद्योगले सन् २००५ मा स्थापना भएदेखि नै अल्मुनियम र कपर वायर तथा केबल उत्पादन गर्दै आएको छ। हाल कम्पनीको वार्षिक उत्पादन क्षमता कपरजन्य सामग्रीमा १ हजार ६७५ मेट्रिक टन र अल्मुनियमजन्य सामग्रीमा २ हजार ४१० मेट्रिक टन रहेको छ।
हाल कम्पनीले “जनता केबल” ब्रान्डमार्फत देशभर १०७ वितरक सञ्जालमार्फत विद्युत् तार तथा केबल उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार मल्टीस्ट्र्यान्ड फ्लेक्जिबल वायरले मात्र कुल कारोबारको ४३ प्रतिशत हिस्सा ओगटेको छ।
यद्यपि व्यापारमा उल्लेखनीय वृद्धि भए पनि कम्पनीको नाफा स्थिर नै रहेको छ। सन् २०२१ देखि २०२३ सम्म करिब १० प्रतिशत नाफा कमाउँदै आएको कम्पनीले सन् २०२५ मा नाफा घटेको जनाएको छ। कच्चा पदार्थको मूल्यवृद्धि यस वर्ष नाफा घट्नुको मुख्य कारण भएको कम्पनीको भनाइ छ।
गत आवमा कुल कारोबारको ६० प्रतिशत हिस्सा कच्चा पदार्थको लागतमा खर्च भएको छ, जुन अघिल्लो वर्ष ७३ प्रतिशत थियो। कम्पनीमा अनिता जोढनीको ४९ प्रतिशत र पवनकुमार अग्रवालको २१ प्रतिशत स्वामित्व रहेको छ।
जनता केबलले हाल दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ६ करोड ४० लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ, जसमा दीर्घकालीन २३ करोड ९१ लाख र अल्पकालीन ८२ करोड ५० लाख रुपैयाँ समावेश छन्।
कम्पनीले आगामी वर्षहरूमा प्रतिस्पर्धी मूल्य र गुणस्तरमा अझ सुधार गर्दै व्यापार वृद्धिको गति निरन्तर तीव्र बनाउने प्रतिवद्धता व्यक्त गरेको छ।