आनन्द इन्डस्ट्रीजको व्यापार १ अर्ब नाघ्यो, नाफा र नगद दुवै बढे

काठमाडाैं, २६ असाेज । आनन्द इन्डस्ट्रीज प्रालिले गत वर्षको तुलनामा उल्लेखनीय व्यापारिक सुधार गरेको छ। कम्पनीले सन् २०२५ मा १ अर्ब ८ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गर्दै १८.६२ प्रतिशत वृद्धि हासिल गरेको जनाएको छ। अघिल्लो वर्ष सन् २०२४ मा कम्पनीको कारोबार ९१ करोड ३० लाख रुपैयाँ थियो।
सुनसरीस्थित उद्योगले ‘क्रान्ति’ ब्रान्डमार्फत प्रशोधित चामल बजारमा उपलब्ध गराउँदै आएको छ। चामलको मूल्यवृद्धि र बिक्री परिमाण दुवै बढेकाले व्यापार वृद्धिमा सकारात्मक असर परेको कम्पनीको भनाइ छ।
गत वर्ष कम्पनीले २३ हजार २ सय ७९ मेट्रिक टन चामल बिक्री गरेको छ, जुन अघिल्लो वर्षको २१ हजार ४ सय ६२ मेट्रिक टनभन्दा बढी हो। सोही अवधिमा प्रतिमेट्रिक टन चामलको मूल्य ७४ हजार ९५९ रुपैयाँबाट बढेर ८५ हजार १२७ रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।
नाफाको पक्षमा पनि कम्पनीले सशक्त सुधार गरेको छ। सन् २०२५ मा कम्पनीको खुद नाफा दर ६.२१ प्रतिशत पुगेको छ, जुन सन् २०२४ को १.५८ प्रतिशतको तुलनामा धेरै हो। साथै, नगद सञ्चयमा पनि उल्लेखनीय वृद्धि भएको कम्पनीको भनाइ छ—सन् २०२४ को २ करोड २० लाख रुपैयाँबाट बढेर सन् २०२५ मा ७ करोड ५० लाख रुपैयाँ पुगेको छ।
सन् १९७० देखि सञ्चालनमा रहेको आनन्द इन्डस्ट्रीजले मनसुली, सोना, जीरा लगायतका ब्रान्डका चामल उत्पादन गर्दै आएको छ। कम्पनीको वार्षिक उत्पादन क्षमता २१ हजार मेट्रिक टन रहेको छ र बजार मागअनुसार उत्पादन विस्तारको योजना अघि बढाइरहेको छ।
वित्तीय स्थायित्वका लागि कम्पनीले ७० करोड रुपैयाँको अल्पकालीन कर्जा रेटिङ गराएको छ। चार सदस्यीय सञ्चालक समितिबाट सञ्चालित कम्पनीका निर्देशक मोतिलाल अग्रवालसँग चामल उद्योगमा चार दशकभन्दा बढीको अनुभव रहेको छ। हाल कम्पनीसँग देशभर ४ सयभन्दा बढी स्थायी ग्राहक सञ्जाल रहेको छ।