Date

बुध, अशोज २९, २०८२
Wed, October 15, 2025

“कुलमान–कोरियन राजदूत भेट : हरित हाइड्रोजनदेखि रेलमार्गसम्म सहकार्यको प्रस्ताव”

“कुलमान–कोरियन राजदूत भेट : हरित हाइड्रोजनदेखि रेलमार्गसम्म सहकार्यको प्रस्ताव”

काठमाडाैं, २८ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङ बीच सोमबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा राजदूत पार्कले मन्त्री घिसिङलाई कोरियातर्फबाट बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । उनले नेपाल–कोरिया सम्बन्धलाई अझै मजबुत बनाउँदै विकास र प्रविधिको क्षेत्रमा सहकार्य विस्तार गर्न तयारी रहेको बताए ।

नेपाल–कोरिया ऊर्जा सहकार्यलाई नयाँ दिशा

मन्त्री घिसिङले नेपालको ऊर्जा सन्तुलन र विद्युत निर्यातका लागि ठूला जलाशययुक्त जलविद्युत आयोजनाको आवश्यकता रहेको बताउँदै, पाँच सय मेगावाटभन्दा ठूला आयोजना सरकार–सरकार साझेदारीमा वा कोरियन निजी कम्पनीहरूको लगानीमा निर्माण गर्न आग्रह गरे ।

उनले साथै, कोरियामा सफल भएको हरित हाइड्रोजन प्रविधिलाई नेपालमा पनि लागू गर्दै, मलखाद उत्पादन र सार्वजनिक यातायात सञ्चालनका लागि नमुना परियोजनाको रूपमा विकास गर्न सकिने सुझाव दिए ।

रोजगारी र सीप विकासमा सहकार्य

मन्त्री घिसिङले रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत कोरिया जाने नेपाली श्रमिकको कोटा बढाउन माग गरे । साथै, कोरिया जानुअघि सीप विकास तालिम र फर्किएपछि प्राप्त सीपलाई स्वदेशमै उद्यमशीलता र रोजगारी सिर्जनामा प्रयोग गर्न सहयोग गर्न आग्रह गरे ।

ठूला पूर्वाधार परियोजनामा कोरियाली सहयोग

घिसिङले अरुण नदी करिडोर र पूर्व–पश्चिम प्रसारण लाइनलाई जोड्ने इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन परियोजनामा कोरियाली एक्जिम बैंकको सहयोग छिट्टो टुंग्याउन आग्रह गरे । साथै, रेलमार्ग निर्माण, सञ्चालन र मर्मतसम्भार क्षमतामा पनि कोरियाबाट प्राविधिक सहयोग आवश्यक रहेको बताए ।\

माथिल्लो त्रिशूली–१ आयोजनाको प्रगति

भेटका क्रममा राजदूत पार्कले कोरियन सरकारी कम्पनीको मुख्य लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको अद्यावधिक जानकारी प्रस्तुत गरे ।

उनका अनुसार आयोजनाको निर्माण प्रगति ७० प्रतिशत पुगेको छ र डिसेम्बरमा मुख्य सुरुङ छिचोल्ने (ब्रेकथ्रु) तयारी भइरहेको छ । उक्त अवसरमा मन्त्री घिसिङको उपस्थितिको अपेक्षा गर्दै, हालसम्म प्रदान गरिएको सरकारी सहयोगका लागि उनले आभार व्यक्त गरे ।

ऊर्जा क्षेत्रमा कोरियाको बढ्दो चासो

राजदूत पार्कले नेपालमा कोरियाली कम्पनीलाई आकर्षित गर्न शीघ्र सेमिनार आयोजना गर्ने तयारी भइरहेको जनाए । उनले प्रसारण लाइन निर्माणमा सहयोगका विषयमा अर्थ मन्त्रालयसँग छलफल चलिरहेको जानकारी पनि दिए ।

नेपाल र कोरियाबीच लामो समयदेखि ऊर्जा, पूर्वाधार र मानव स्रोत विकासका क्षेत्रमा सहकार्य हुँदै आएको छ । यो भेटलाई दुवै मुलुकबीच हरित प्रविधि, ऊर्जा व्यापार र पूर्वाधार विकासमा नयाँ सहकार्यको ढोका खोल्ने अवसरका रूपमा हेरिएको छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *