Date

बुध, अशोज २९, २०८२
Wed, October 15, 2025

‘जेन्जी आन्दोलन’को असरः आईएमएफले घटायो नेपालको वृद्धि अनुमान

‘जेन्जी आन्दोलन’को असरः आईएमएफले घटायो नेपालको वृद्धि अनुमान

काठमाडाैं, २९ असाेज । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चालु आर्थिक वर्षका लागि नेपालको आर्थिक वृद्धि दर घटाएर ५.२ प्रतिशतको प्रक्षेपण गरेको छ। यसअघि अप्रिल महिनामा कोषले ५.५ प्रतिशत वृद्धि हुने अनुमान गरेको थियो।

आईएमएफले मंगलबार सार्वजनिक गरेको वल्र्ड इकोनोमिक आउटलुक (WEO) २०२५ अनुसार, हाल देशभित्रका सामाजिक–राजनीतिक गतिविधि, विशेषगरी ‘जेन्जी आन्दोलन’ले आर्थिक गतिशीलतामा प्रत्यक्ष असर पारेको बताइएको छ। कोषका अनुसार, आन्दोलनका कारण लगानी माहोलमा अनिश्चितता र उपभोग खर्चमा कमी देखिएको छ, जसले वृद्धि दरमा दबाब सिर्जना गरेको हो।

यसैबीच, विश्वबैंकले पनि नेपालको आर्थिक वृद्धि दरको अनुमानलाई अझै घटाउँदै आईएमएफको भन्दा न्यून दरमा सीमित हुने जनाएको छ। विश्वबैंकले यसअघि नै चेतावनी दिँदै राजनीतिक अस्थिरता, वैदेशिक लगानीमा सुस्तता र वैदेशिक रोजगारीमा निर्भर अर्थतन्त्रका कारण दीर्घकालीन चुनौती देखाएको थियो।

विश्व अर्थतन्त्रतर्फ हेर्दा, आईएमएफले सन् २०२५ का लागि विश्वको समग्र आर्थिक वृद्धि दर ३.२ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ। यसमा मुख्य कारण अमेरिकाको ट्यारिफ नीतिबाट उत्पन्न व्यापार तनाव रहेको कोषले जनाएको छ।

आईएमएफका प्रमुख अर्थशास्त्री पियरे–ओलिभर गोरिन्चासका अनुसार, अमेरिका–चीन व्यापार द्वन्द्व केही हदसम्म शान्त हुँदै गएका संकेत देखिए पनि दीर्घकालीन समाधान टाढै रहेको छ। उनले भने, “युरोप र एसियाली बजारमा केही स्थायित्व फर्किंदैछ, तर व्यापार नीतिहरूमा अनिश्चितता अझै बाँकी छ।”

नेपालका सन्दर्भमा, आईएमएफले विदेशी विनिमय सन्तुलन, उपभोगमा सुस्ती, र सार्वजनिक लगानीका ढिलाइलाई समेत वृद्धि सुस्त हुनाका कारणका रूपमा उल्लेख गरेको छ। तर, कोषले दीर्घकालीन दृष्टिले नेपालको डिजिटल र पर्यटन क्षेत्र विस्तारले अर्थतन्त्रलाई पुनः गतिमा ल्याउने सम्भावना देखाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *