हङकङमा नेपाल एयरलाइन्सको एकै दिन तीन चार्टर्ड उडान, ५८२ यात्रु फर्किए
काठमाडौँ, २० जेठ । नेपाल एयरलाइन्सले हङकङमा एकै दिन तीन चार्टर्ड उडान गरेको छ । एयरलाइन्सका दुई न्यारोबडी ए–३२० र एक वाइडबडी ए–३३० जहाजमार्फत सोमवार राति ५८२ यात्रु हङकङ फर्किएका छन् ।
दुई न्यारोबडी तथा एक वाइडबडी जहाजबाट एक–एक घण्टाको अन्तरालमा हङकङ उडान गरेको नेपाल वायुसेवा निगमले बताएको छ । निगमको पछिल्लो उडान गए राति ११ बजे भएको थियो । नेपालमा बन्दाबन्दीका कारण रोकिएका हङकङमा बसोबास गर्ने नेपाली हङकङ फर्किएको निगमले बताएको छ । तीनवटै उडानका जहाज हङकङ पुगेर नेपालतर्फ उडान भरिसकेकाले दिउँसो काठमाडौँ आइपुग्नेछन् । लकडाउनको अवस्थामा हवाई उडानसमेत स्थगन गरिएको अवस्थामा निगमले चार्टर्ड उडान गरेको हो ।
लकडाउनको अवस्थामा निगमले आफ्नो उड्डयन इतिहासमै वाइडबडी जहाजले पहिलोपटक लामो गन्तव्य अष्ट्रेलियाको सिड्नी र ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो । तेस्रोपटक अष्ट्रेलियाको राजधानी क्यानबेरामा आगामी जेठ २६ गते (जुन ८ तारिखका दिन) चार्टर्ड उडान गर्दै छ । यी सबै उडान मलेशियाको क्वालालम्पुर हँुदै करिब १३ घण्टाको हुनेछन् ।