Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

महामारीले प्रभावित पुष्प व्यवसाय तिहारमा बढ्ने आशामा व्यवसायी

महामारीले प्रभावित पुष्प व्यवसाय तिहारमा बढ्ने आशामा व्यवसायी

काठमाडौं, १४ कात्तिक । कोरोना महामारीले सबैजसो क्षेत्र प्रभावित भइरहँदा पुष्प व्यवसाय पनि यसबाट अलग रहन सकेको छैन । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि लामो समयसम्म जारी लकडाउन र त्यसपछि विभिन्न चरणमा गरिएका निषेधाज्ञाले ठप्पप्रायः रहेको यो व्यवसायले अझै पनि गति लिन सकेको छैन ।
कोरोना महामारीको शुरू हुनुपूर्व दैनिक रू. १ करोडभन्दा बढीको कारोबार हुने गरेकोमा अहिले ३० देखि ४० लाखसम्मको मात्र कारोबार भएको व्यवसायी बताउँछन् । मुलुकभर हुने पुष्प व्यवसायको ६० प्रतिशत काठमाडौं उपत्यकामा हुने गरेको छ । नेपाल पुष्प व्यवसायी संघका अनुसार सामान्य अवस्थामा दैनिक १७ हजारदेखि २० हजार वटासम्म माला विक्री हुने गरेकोमा अहिले करिब आधा घटेको छ ।
यद्यपि नजिकिँदै गरेको तिहारमा यो व्यवसाय बढ्ने अपेक्षा व्यवसायीले गरेका छन् । महामारीका कारण यसपटकको तिहारमा गतवर्षको भन्दा कारोबार घट्न सक्ने भए पनि केही मात्रामा बजार उकासिने आशा उनीहरूको छ । यस वर्षको तिहारमा १५ लाख माला खपत हुने अनुमान गरिएको छ । व्यवसायीले पनि सोही अनुसार तयारी शुरू गरेको संघले बताएको छ ।
सामान्य अवस्थामा तिहारका लागि सयपत्री र मखमली पूmलका करिब २२ लाख माला खपत हुने गरे पनि फूलखेती घटेकाले पनि उत्पादन कम हुने अनुमान संघको छ । महामारीका कारण पुष्प व्यवसायमा नराम्रो असर परेपछि पूmल खेती गर्ने अधिकांश कृषक अन्य पेशामा लागेकाले पनि उत्पादन घटेको संघका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताएका छन् ।
रू. ६ अर्ब बराबरको लगानी रहेको पुष्प व्यवसाय हाल ४३ जिल्लामा फैलिएको छ । यस्तै यसमा ७ सयभन्दा बढी व्यवसायी आबद्ध रहनुका साथै प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ४० हजारले रोजगारी पाएको संघको तथ्यांक छ । संघका अनुसार गतवर्ष यो व्यवसायबाट रू. २ अर्ब ६४ करोड बराबरको कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x