पेट्रोलियमको मूल्य बढाउनुपर्ने दबाबमा निगम
काठमाडौं, ५ फागुन । पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको एक साता नबित्दै नेपाल आयल निगम पुनः मूल्य बढाउनुपर्ने दबाबमा परेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर आएपछि निगम मूल्य बढाउनुपर्ने दबाब परेको हो ।
मंगलवार आइओसीले निगमलाई नयाँ मूल्यसूची पठाएको छ । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पाक्षिक १ अर्ब ७ करोड घाटा बेहोर्नुपर्ने प्रक्षेपण गरिएको राससमा उल्लेख छ । निगमले मंगलवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको नयाँ मूल्य प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६७ प्रतिलिटर तोकेको छ । बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८६८ अमेरिकी डलर तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ४०० तोकिएको छ ।
वृद्धि गरिएको मूल्यमा इन्धन विक्री गर्दा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटर ४ रुपैयाँ १३ पैसा नोक्सान छ । मट्टितेलको नाफा घटेर प्रतिलिटर २१ रुपैयाँ ५२ पैसा, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको नाफा ३४ रुपैयाँ १९ पैसामा झरेको छ । खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको निगमले बताएको छ ।