इन्डक्सन चुलो ९ महिनामा करिब १ लाख आयात
काठमाडौं, १० वैशाख । चालु आर्थिक वर्षको ९ महिनामा करिब १ लाख जति इन्डक्सन चुलो नेपाल आयात भएको छ ।
चालु आर्थिक वर्षको शुरुको महिना साउनदेखि चैतसम्म ८१ हजार ३८२ वटा इन्डक्सन चुलो आयात भएको हो ।
भन्सार विभागको तथ्यांक अनुसार चैतसम्म १७ करोड ५४० रुपैयाँको बिजुलीबाट चल्ने चुलो आयात भएका छन् ।
विद्युतीय चुलोको प्रयोग बढाएर खाना पकाउने ग्यासको आयात घटाउन सकिने बारेमा ऊर्जा मन्त्रालयदेखि नेपाल विद्युत प्राधिकरणसम्मले अध्ययन पनि गराउँदै आएका छन् । सरकारले करमा छुट दिनुपर्नेदेखि अनुदानसम्मका विकल्पमा छलफल भइरहेको छ ।
पछिल्लो समय विद्युतीय चुलोको बिक्री बढ्दै गइरहेको छ । नेपालमा भूकम्प गएपछि चीनबाट इन्डक्सन चुलो आएपछि आमजनतामा यसको उपयोगिता बारेमा सचेतना बढेको थियो ।
नेपालमा ६७ लाख परिवारमध्ये ७० प्रतिशतभन्दा बढी परम्परागत इन्धनकै खपत गर्ने गरेका छन् । पछिल्लो समय गाउँगाउँमा बिजुली प्रसार भएपनि खाना पकाउने ग्यास पनि पुगेको छ । बिजुलीसँगै इन्डक्सन चुलो पुग्नुपर्ने भएपनि ग्यासको सिलिन्डर पुग्ने गरेको छ ।
२ लाख ९६ हजार राइस कुकर, ९ लाख विद्युतीय किट्ली, जग आयात भएको छ ।