विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट
काठमाडौं, १० वैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सर्भिस दिने कम्पनी छनोट प्रतिस्पर्धाबाट गर्ने भएको छ ।
चैत ३० गते मन्त्रिपरिषदबाट स्वीकृत भएको विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउन स्वदेशी तथा विदेशी कम्पनीहरुबाट प्रतिस्पर्धा गराएर कम्पनी छनोट गर्ने विषय समावेश भएका हो ।
प्राधिकरणले अहिले सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको जिम्मा सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई दिएको छ ।
यसैगरी जेठ २ गतेबाट सञ्चालनको तयारी भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ग्राउन्ड ह्यान्डलिङको काम नेपाल एयरलाइन्सले गर्ने भएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको काम पनि नेपाल एयरलाइन्सले नै गर्ने गरी जिम्मा पाइसकेको प्राधिकरणले जनाएको छ ।