सवारी चार्जिङ पूर्वाधार निर्माणमा निजी क्षेत्र
काठमाडौं १० वैशाख । विद्युतीय सवारीलाई प्रवद्र्धन गर्ने सरकारी नीतिसँगै विद्युतीय सवारीको आयात तथा प्रयोग तीब्र रुपमा बढिरहेको छ । निजी कारमात्र होइन दुईपांग्रेदेखि ठूला बससम्म विद्युतीय आउन थालेका छन् ।
विद्युतीय सवारीको आयात तीब्र रुपमा बढेसँगै यसका लागि अत्यावश्यक मानिएको चार्जिङ पूर्वाधारको निर्माणमा भने त्यति धेरै काम हुन सकिरहेको छैन। सरकारले नीतिगत सहजीकरण गरिरहेको भएपनि आफैले भने चार्जिङ स्टेसनलगायत पूर्वाधा निर्माणमा ध्यान दिएको छैन । विद्युत प्राधिकरणले भने ५० स्थानमा चार्जिङ स्टेसन निर्माण गरिरहेको छ ।
हाल नेपाली बजारमा सबैभन्दा धेरै बिक्री भएको विद्युतीय सवारीमा निजी कार रहेको छ । त्यसपछि विद्युतीय स्कुटर तथा मोटरसाइकल, विद्युतीय रिक्सा बिक्री हुने गरेको छ । पछिल्लो केही कम्पनीले साना कमर्सियल सवारी, पिकअप पनि विद्युतीयमा ल्याउन थालेका छन् । सीमित संख्यामा ठूला विद्युतीय बस समेत सञ्चालन हुँदै आएको छ ।
साझा यातायातले ४० वटा विद्युतीय बस खरिद गर्न गरेको टेन्डरअनुसार ३ वटा बस काठमाडौं आउने क्रममा रहेको छ । यी बस सञ्चालनमा आउनुपूर्व चार्जिङ स्टेसनलगायत पूर्वाधार विद्युतीय बस आपूर्तिकर्ता कम्पनीले नै निर्माण गरिदिने छ ।
विद्युतीय कारको बिक्री बढेसँगै आयातकर्ता कम्पनीहरुले फास्ट चार्जरको स्थापना पनि बढाउँदै गएको छन् । काठमाडौं वा सहरी क्षेत्रमा मात्रै इभी चलाउने हो भने घरमा राखिने चार्जरबाट चार्ज गर्दा नै पर्याप्त हुन्छ । सहरमा मात्र चलाउने हो भने दिनको औषत १ किलोमिटरभन्दा कम चल्ने गर्छ ।
नेपालमा हुन्डाई, टाटा, एमजी, किया महिन्द्रा, दिगोलगायत कम्पनीले विद्युतीय कार बिक्री गर्दै आएका छन् । यी नै कम्पनीहरुले विद्युतीय कारका लागि आवश्यक पर्ने चार्जिङ स्टेसनहरु उपत्यकासहित देशका हाइवे तथा अन्य ठाउँहरुमा निर्माणलाई तीब्रता दिएका छन् । त्यसमा पनि टाटा र हुन्डाई विद्युतीय कारका लागि चाहिने चार्जिङ स्टेसन बनाउन आक्रामक रुपमा लागिपरेका छन् ।