उठेन विमानस्थलको बक्यौता रकम, भन्सार विभागले मात्र ५५ करोड तिर्न बाँकी
काठमाडौं,२० माघ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले बक्यौता रकम उठाउन पटक पटक ताकेता गरेपनि अझै करीब डेढ अर्ब बक्यौता उठाउन बाँकी रहेको बताइएको छ । बढी बक्यौता हुनेमा सरकारी निकाय भन्सार विभाग, नेपाल वायुसेवा निगमसहित निजी क्षेत्रका हवाई कम्पनी छन्। जस मध्ये भन्सार विभागको करीब रु ५५ करोड बक्यौता छ भने नेपाल वायुसेवा निगमको करीब रु ४० करोड छ। निगमले किस्ताबन्दीमा रकम तिरेपनि भन्सार विभागले भने लामो समयदेखि रकम तिरेको छैन । मलेशियाको एयर एशियाले विलम्ब शुल्कसहितको विमानस्थल सेवा शुल्कबापतको रु २१ करोड बक्यौता तिरेको छैन। यसमा रु सात करोड ५० लाख साँवा र विलम्ब शुल्क रु १३ करोड बाँकी छ । क्वालालम्पुर–काठमाडौँ सिधा उडान गर्दै आएको यो कम्पनीले बक्यौता नतिरेपछि केही महीनाअघि सेवा बन्द गरेको छ।
यसका बीच विमानस्थलले गएको ११ महीनाको अवधिमा रु ५५ करोडभन्दा बढी बक्यौता उठाएको छ। मङ्सिर मसान्तसम्म विभिन्न वायुसेवा प्रदायक कम्पनीबाट करीब ५० करोड र पुस महीनामा झण्डै सात करोड बक्यौता उठेको विमानस्थल कार्यालयले जनाएको छ। बक्यौता बाँकी रहेका निकायलाई पनि निरन्तर ताकेता गरिएको राजकुमार क्षेत्रीले जानकारी दिए ।