Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

काठमाडौंका ९ वटा नगरलाई एक—एक करोड रुपैयाँ प्रदान गर्दै महानगर

काठमाडौंका ९ वटा नगरलाई एक—एक करोड रुपैयाँ प्रदान गर्दै महानगर

काठमाडौंं २६ माघ । काठमाडौं महानगरले छिमेकी नगरलाई समृद्ध बनाउने नीतिअनुरुप ९ वटा नगरलाई जनही १÷१ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर—नगर साझेदारी कार्यक्रम अन्तर्गत महानगरले काठमाडौं जिल्लाका नगरपालिकाहरुको हरियाली प्रवर्धन, पार्क निर्माण र सार्वजनिक जग्गा संरक्षण कार्यका लागि प्राप्त प्रस्ताबका आधारमा उक्त रकम उपलब्ध गराउने भएको हो ।


महानगरको २९ औं बोर्ड बैठकले प्रस्तावक ९ वटा नगरलाई रकम उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता ईश्वरमान डंगोलले जानकारी गराए । यसै कार्यक्रम अन्तर्गत काठमाडौं महानगरले गएको असार २० गते टोखा नगरलाई बौडेश्वर महादेव क्षेत्रमा बाल उद्यान निर्माणका लागि १ करोड रुपैयाँ प्रदान गरिसकेको छ । अब टोखाबाहेकका अन्य नगरलाई रकम दिइने प्रवक्ता डंगोलले बताए ।


बैठकले अन्तर सरकार साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि २०७५ अनुमोदन गरेको छ । चमति जग्गा आयोजनाको काम समयमा सम्पन्न गर्न आयोजनालाई ७ करोड रुपैयाँ ऋण उपलब्ध गराउने गरेको बैठकले पर्यटन बर्ष २०२० लाई सफल बनाउन सम्पदा समितिका संयोजक एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरेको छ । समितिका सदस्यहरुमा वडाध्यक्षहरु शशिलाल श्रेष्ठ, राजेन्द्र मानन्धर, कुश ढकाल, बालकृष्ण श्रेष्ठ, दीपेन्द्र लामा, ईश्वरमान डंगोल, दिनेश डंगोल, रामकृष्ण श्रेष्ठ, चिनीकाजी महर्जन, ख्याम तिवारी, शोभा सापकोटा, शुद्धकुमार डंगोल र कार्यपालिका सदस्यहरु रमिताकमल स्थापित, लक्ष्मी श्रेष्ठ र हीरादेवी पोख्रेल रहेका छन् । समितिको सदस्य सचिवमा सम्पदा तथा पर्यटन बिभागका बिभागीय प्रमुख रहने व्यवस्था गरिएको छ ।

सहरी सुरक्षाका लागि सिसि क्यामरा जडान गर्न नेपाल प्रहरीसँग सहकार्य गर्ने र यसका लागि प्रहरीलाई ३ करोड रुपैयाँ उपलब्ध गराउने बैठकले निर्णय गरेको छ । आउँदो फागुन १ गते काठमाडौंमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ हुनेछ । यस कार्यक्रमलाई प्रधानमन्त्री रोजगार कार्यक्रम र काठमाडौं महानगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने बैठकले गरेको अर्को निर्णय हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x