आन्तरिक उत्पादनलाई सबल बनाउनुस -मन्त्री लालबाबु पण्डित
काठमाडौं, २८ फागुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आयआर्जन र उद्यमशीलताको विकासबाट मात्रै अर्थतन्त्र सुदृढ हुने बताएका छन् । १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेलाको समापन कार्यक्रममा मन्त्री पण्डीतले नेपाली मौलिक उत्पादनहरु आन्तरिक बजारका साथै अन्तराष्ट्रिय बजारमा पनि पु¥याउन आवश्यक सहयोग सरकारले गर्ने प्रतिवद्धता गरेका छन् ।
पछिल्लो समय नयाँ बाटो भन्दै परनिर्भरतातर्फ मुलुक अग्रसर भएको भन्दै, उनले भने –‘मेला हेरेपछि म पनि उत्साही भएको छु । यहाँहरुको पनि उत्साह नघटोस । मुलुकलाई परनिर्भर हुनबाट बचाउन आन्तरिक उत्पादनलाई सबल बनाएर आयातको दरलाई रोक्न सघाउनुस ।’ उत्पादन बढाउनका लागि अहिले सबैभन्दा शक्तिशाली सरकारका रुपमा रहेको स्थानीय निकाय मार्फत लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा बजेट परिचालन गर्नुपर्नेमा मन्त्री पण्डीतले जोड दिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा राजधानीको भृकुटीमण्डप परिसरमामा ५ दिन सम्म चलेको उक्त मेला ४ लाख ७५ हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् भने १५ करोड चालिस लाख रुपियाँ भन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ ।
आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ सञ्चालित प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले मेला सोंचेभन्दा पनि सफल भएको बताए । मेलामा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने यस मेलाले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणका रुपमा रहेका थिए ।
मेलामा २ सय ५ वटा स्टल रहेका, उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरु सहभागी रहेको, चीन, भारत र वंगलादेश गरी ४५ वटा अन्तराष्ट्रिय स्टल रहेका थिए। पाँच दिनको अवधिमा करिब चार लाख ५० हजारले अवलोकन गर्ने र झण्डै १५ करोडको कारोबार हुने अपेक्षा गरिएको थियो । समापन समारोहमा उत्कृष्ट उद्यमीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।