Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बीमामा पहुँच बढाउन ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन गरिने

बीमामा पहुँच बढाउन ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन गरिने

काठमाडौं, ३ चैत । बीमामा पहुँच बढाउने उद्देश्यले राष्ट्रव्यापी अभियान चलाइने भएको छ । लामो समयदेखि आर्थिक पत्रकारिता गर्दै आएका युवा र केही बिमा विज्ञको सक्रियतामा स्थापित नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एससिस) ले सातै प्रदेशका विभिन्न स्थानीय तहमा पुगेर ‘घुम्ती बीमा राष्ट्रिय सचेतना अभियान’ सञ्चालन गर्न लागेको हो ।

बीमा सचेतना बढाउने, बीमाको पहुँचबाहिर रहेका नागरिकलाई बीमाको पहुँचमा ल्याउने, बीमालक्षित सरकारी योजनामा सहयोग पुर्याउने र सामाजिक सुरक्षा प्रवर्धन गर्ने उद्देश्यले सुरु हुन लागेको अभियानको उद्घाटन चैत ९ गते उदयपुरको बेलका नगरपालिकाबाट गरिने एनसिसकी अध्यक्ष लक्ष्मी श्रेष्ठले बताइन् । करिब ५५ हजार जनसंख्या रहेको उक्त नगरपालिकाका बहुसंख्यक नागरिकले साक्षरताको अभावमा बीमा नगरेको र बीमा कम्पनीका शाखासमेत नभएकाले सोही ठाउँबाट अभियानको उद्घाटन गर्न लागिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

उनका अनुसार उद्घाटनसँगै अभियानको पहिलो चरणअन्तर्गत धुनषाको सबैला नगरपालिका, रौतहटको यमुनामाई गाउँपालिका, सप्तरीको सप्तकोशी नगरपालिका, सुनसरीको इनरुवा नगरपालिका, मोरङको कोशी हरैँचा नगरपालिका, झापाको कनकाई नगरपालिका, काभ्रेको पनौती नगरपालिका र धादिङको रि गाउँपालिकामा कार्यक्रम गरिनेछ । कार्यक्रम गर्ने स्थानीय तहमा पुगेर पूर्वअध्ययनपश्चात् प्राथमिकता निर्धारण गरिने उनले बताइन् ।

उद्घाटनपछि हुने सबै कार्यक्रम घुम्ती ट्रकमार्फत गरिने आयोजकले जनाएको छ । ‘भिडियो अन ह्विल कन्सेप्टबाट अगाडि बढ्ने गरी तयारी अघि बढाइएको छ,’ एनसिसका सल्लाहकार एवं बिमा विज्ञ डा. रविन्द्र घिमिरेले भने, ‘त्यसक्रममा सचेतनामूलक श्रव्यदृश्य सामग्री, सडक नाटक, विज्ञका विचार र कालाकारमार्फत प्रस्तुति दिएर बिमा नगरेका नागरिकलाई बिमा गर्न अभिपे्ररित गरिनेछ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x