देशभरका मालपोत कार्यालयलाई डिजिटल बनाउदै सरकार, कलंकी मालपोतमा प्रविधि जडानको काम सुरु

बलराम बुढाथोकी
काठमाडौं, ७ चैत । देशभरका मालपोत कार्यालयहरुमा अव डिजिटल प्रविधि जडान गरिने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यो निर्देशन दिएसँगै परिक्षणका रुपमा कलंकी स्थित मालपोत कार्यालयमा डिजिट प्रविधि जडानको काम सुरु भएको छ ।

गत आइतबार मात्रै भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्यमा कुमारी अर्यालले मालपोत कार्यालयहरुलाई डिजिटल प्रविधिमा जोड्ने र मालपोत कार्यलयमा हुने अनियमिततालाई नियन्त्रण गर्ने बताएकी थिइन । त्यसै अनुरुप अब कलंकी मालपोत कार्यालय पहिलो डिजिटल मालपोत कार्यालय हुने छ । त्यसको लागि आधारभूत व्यवस्थापनको काम भइरहेको छ ।

दैनिक ५ सय देखि ६ सयको हाराहरीमा सेवाग्राही आउने कलंकी मालपोत कार्यालयमा अब केही समय पछि डिजिटल प्रविधिबाट काम हुने मालपोत कार्यालयका प्रवक्ता पुर्ण बहादुर केसीले जानकारी दिए । जग्गा लेनदेन गर्न लेखनदासको आवश्यक नपर्ने गरि सरकारले मालपोत कार्यालयहरुको विकास गर्ने तयारी गरेको उनको भनाई छ । डिजिटल प्रविधिमा सेवाग्राहीहरुले घरमै बसेर अनलाईनमा राखिएको फारम भर्न सक्ने छन् । अनलाईनमा भएको फारम सरल सबैले बुझ्न सक्ने हुनेछ । यो प्रविधिको सुरु भएसँगै मालपोत कार्यालयहरुमा हुने भ्रष्टाचार र भिडभाड समेत कम हुने पनि विश्वास लिइएको छ।

कलंकी मालपोतमा परिक्षणका रुपमा यो सेवा सुरु गरेपछि क्रमश सबै मालपोत कार्यालयमा प्रविधि जडान गर्ने मन्त्रालयले जनाएको छ । प्रवक्ता केसीका अनुसार कलंकी मालपोत कार्यालयमा अहिले डिजिटल प्रविधि लागु गर्न काम भईरहेको छ । ‘अहिले मन्त्रालयबाट नै खटिएकाहरुले काम गरिरहेका छन् ।’ उनले भने– ‘चैतको पहिलो हप्ताबाट नै हामीले यो प्रविधिको सुरुवात गर्न खोजेका थियौ, कागजपत्रहरु धेरै भएको र त्यसलाई अनलाईन सिस्टममा लैजान स्क्यान वा फोटो खिच्नु परेको हुँदा केही समय लाग्न सक्छ ।’

देशभरका मालपोत कार्यालयमा प्रविधिको विकास गरेर स्थानीय तहलाई जिम्मा दिने सरकारको योजना छ ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *