यस्ता छन् लगानीका लागि अघि सारिएका परियोजना र ल्याइएका कानून
काठमाडौं,११ चैत । लगानी सम्मेलनमा प्रस्तुत गर्नको विभिन्न क्षेत्रका गरी झण्डै ६ दर्जन परियोजना तयार गरिएको छ । लगानी सम्मेलनका लागि प्रस्ताव गरिएका परियोजनाहरू अधिकाश उर्जा कृषि पूर्वधार, शिक्षा र स्वास्थ्य, औद्योगिक पूर्वाधार, पर्यटन, यातायात, सहरी विकाससँग सम्बधित रहेका छन् । लगानी सम्मेलनमा तयार पारिएका परियोजनामध्ये सबैभन्दा बढी १९ वटा ऊर्जासँग सम्बन्धित आयोजना रहेका छन्।
आयोजनाहरु
नलसिंह गाड, सुनकोशी दोस्रो र ते श्रो जलाशययुक्त आयोजना, तमोर जलाशययुक्त आयोजना, पश्चिमसेती जलाशययुक्त आयोजना, एसआर ६ तथा पश्चिम सेती र एसआर ६ संयुक्त जलाशययुक्त आयोजना र तल्लो अरुण जलाशयुक्त आयोजना प्रस्ताव गरिएको छ।
त्यस्तै, पूर्वपश्चिम विद्युतीय रेल, काठमाडौं–पोखरा–लुम्बिनी विद्युतीय रेल सेवा परियोजना, काठमाडौं मेट्रो रेल, सुदूरपश्चिम परिवहन सेवा, रामग्राम–तिलौराकोट बस र्यापिड ट्रान्जिट सेवा, काठमाडौं–रिङरोड बस र्यापिड ट्रान्जिट सेवा जस्ता परियोजना छन्।
पर्यटन पूर्वाधारतर्फ, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, धुलिखेल ड्रिमल्याण्ड परियोजना, दोलखा फिल्मसिटी परियोजना, जानकी क्षेत्र विशेष परियोजनालगायत छन्। कृषितर्फ क्षेत्रगत रूपमा एकीकृत कृषि आधुनिकीकरण परियोजनाका साथै रसायनिक मल कारखाना परियोजना अघि सारिएको छ। औद्योगिक पूर्वाधारतर्फ निर्माणाधीन सिमरा विशेष आर्थिक क्षेत्रका बी र सी ब्लकदेखि मौतीपुर र नौबस्ता औद्योगिक क्षेत्र विकास परियोजना प्रस्तुत गरिने भएको छ।
निजी क्षेत्रतर्फबाट प्रस्तुत हुने २३ मध्ये १६ ऊर्जाका परियोजना छन् भने ३ उद्योग र ४ पर्यटन उद्योगसँग सम्बन्धित परियोजना छन्। सरकारले लगानी सम्मेलनअघि वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक निजी साझेदारी तथा लगानी बोर्ड ऐन, विशेष आर्थिक क्षेत्र ऐन, हेजिङ नियमावली जस्ता कानुन जारी गरेको छ।
लगानी सम्मेलनलाई लक्षित गरी बनाइएका कानूनहरु
१. विशेष आर्थिक क्षेत्र ऐन, २०७३ संशोधन
२. सार्वजनिक–निजी साझेदारी तथा लगानी बोर्ड ऐन, २०७५
३. विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५
४. योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४
५. श्रम ऐन, २०७४